काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री चन्द्रप्रकाश मैनालीले संविधानमा बालअधिकारलाई स्पष्ट रुपमा स्वीकार गरिएको र संविधान प्रदत्त अधिकारलाई कानुन निर्माण गरी संस्थागत गर्ने बताउनुभएको छ ।
गत सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भई बस्न नहुने अवस्थामा पुगेपछि बाल मन्दिरमा रहेका अनाथ बालबालिका ओत लाग्ने छानाको अभावमा जीवन गुजारा गरिरहेका स–साना बालबालिकाका लागि निर्माण गरिएको ‘बेबी होम’ हस्तान्तरण समारोहमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले आजका नानी भोलिको कर्णधार भएकाले उनीहरुको जीवनको सुरक्षा तथा पालनपोषण राज्यको दायित्वभित्र पर्ने र यस दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालय, नेपाल बाल सङ्गठनलगायत संस्था सक्रिय रहेको बताउनुभयो ।
उहाँले अनाथ बालबालिकाको सेवा र सुश्रुषामा दिनरात खटिरहने आमाको काम उत्साहजनक तथा सबैले गर्व गर्न लायक भएको बताउनुभएको छ ।
सोही अवसरमा बाल मन्दिरमा आश्रय लिइरहेका अनाथ बालबालिकालाई ३५ वर्षदेखि अविच्छिन्न सेवा गर्दै आउनुभएकी मुमा माइली तामाङ तथा ३२ वर्षदेखि बालबालिकाको हेरचाह गर्दै आउनुभएका दाजु शिवकुमार श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरियो ।
नेपाल बाल सङ्गठनका अध्यक्ष रिता सिंह वैद्यले अनाथ बालबालिकाको सेवा गर्ने काम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै निःस्वार्थ भावनाले सेवा गर्ने भित्री मनसाय भएका मानिसले दिने सेवा तुलनात्मकरुपमा अधिक हुने बताउनुभयो । उपाध्यक्ष तुल्सीनारायण श्रेष्ठले बेबी होममा २७ बालबालिकाले आश्रय पाउने जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment