महेन्द्रनगर (धनुषा), ८ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले राष्ट्रिय राजनीतिको गतिरोध अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
आज धनुषाको औरहीमा सहिद स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले राष्ट्रिय सरकारको गठन गरी देशमा सबै जातजाति र समुदायले यो देशमा पराया भएको महसुस गर्ने आधारलाई निर्मूल पार्ने गरी राज्यस्तरबाट काम हुनुपर्ने बताउनुभयो ।
नेता नेपालले संविधानप्रति देखिइरहेको असन्तुष्टि, द्विविधा र अविश्वासलाई हल गर्ने प्रयासको खाँचो रहेको आँैल्याउँदै मधेसी र जनजातिको आन्दोलन तथा संविधानप्रति असन्तुष्ट समुदायलाई चित्तबुझ्दो निष्कर्ष निकालेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“हाम्रो देशमा कुरा कम र काम बढी गर्ने पद्धतिको विकास हुनु आवश्यक छ, जनतालाई पीडा र कष्ट दिने काम कुनै पक्षबाट हुनु राम्रो होइन ।”
नेपालले २ नं प्रदेशमा विकासका प्रशस्त सम्भावना भएको बताउँदै पहिलो चरणमा सप्तरीदेखि पर्सासम्म र दोस्रो चरणमा लुम्बिनीसम्म रेल सेवाको विस्तार, हुलाकी सडकको निर्माण, कृषि, तरकारी, पशुपालन र पर्यटनको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । रासस
–––––––––
No comments:
Post a Comment