भक्तपुर, १५ जेठ । नेकपा (एमाले)का सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले समानुपातिक निर्वाचन सहितको संसदीय पद्धतिका कारण देशमा स्थिर सरकार नआउने बताउनुभएको छ ।
नवौँ गणतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले) भक्तपुर, प्रचार विभागले आयोजना गरेको चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उहाँले समानुपातिक पद्धतिले देश नबन्ने जिकिर गर्दै भन्नुभयो˗ “यो पद्धतिले कुनै पनि पार्टीको बहुमत आउँदैन, यस अवस्थामा जुन पार्टीको नेतृत्वमा सरकार बने पनि तीन चार महिनापछि नै सरकार ढाल्ने खेल हुन्छ, अनि अस्थिरता कायम रहिरहन्छ ।”
सरकार स्थिर नहुँदा कर्मचारी, विदेशी दातादेखि सुरक्षाकर्मीले समेतले सरकारलाई असहयोग गर्ने बताउँदै उहाँले देशभरि चुनावमा लडेर प्रत्यक्ष्य निर्वाचन मार्फत प्रधानमन्त्री हुने हिम्मत नेताले नगर्दा समस्या आएको विचार व्यक्त गर्नुभयो ।
अब बहुमत ल्याउन र स्थिरता कायम गर्नका लागि देशभरका कम्युनिस्ट पार्टीलाई एउटै बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले यसका लागि एमालेले कदम चालिसकेको बताउनुभयो ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले एमालेलाई कसरी बलियो बनाउने र अरु प्रतिद्वन्द्वीलाई कसरी कमजोर बनाउने भन्नेमा पार्टीभित्र बहस हुनुपर्नेमा नेताहरु नै गाली गलोजमा उत्रिएका छन्, यसलाई बाँध्न पार्टीले आचारसंहिता बनाउनैपर्छ भन्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र र सांसद केदार सञ्जेल, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला र नेता राजेन्द्रमान श्रेष्ठले पार्टीभित्रको असन्तुष्टिलाई पार्टीभित्रै पोख्नुपर्नेमा बाहिर जथाभाबी बोल्दै हिँड्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताउनुभयो । रासस
No comments:
Post a Comment