गोरखा, २५ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दलबीच सहमति जुटेमा राष्ट्रिय सरकार गठन गर्न नेकपा (एमाले) बाधक नबन्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने खेल खेलेको भन्दै नेता नेपालले सरकार ढल्ने होइन बलियोसँग प्रस्तुत भएको बताउनुभयो ।
पुष्पलाल स्मृति प्रतिष्ठान, गोरखा शाखाको आज सदरमुकाममा आयोजित अधिवेशन उद्घाटन गर्दै नेता नेपालले भन्नुभयो– “राष्ट्रिय सरकार गठन गर्न नेकपा (एमाले) बाधक होइन सहयोगी हो । यही सरकारले नीति तथा कार्यक्रम ल्याउँछ, ढुक्क हुनुहोस् बजेट ल्याउँछ ।” एमाले राजनीतिको पुरानो खेलाडी भएको भन्दै नेपालले काँग्रेसले सरकार ढाल्ने खेल खेल्दैमा यो सरकार नढल्ने बताउनुभयो ।
सरकार ढल्ने भो भन्दै काँग्रेसले भोजभतेर गरेको, ह्वीस्कीका बोतल फुटाएको र मारुनी नाच नाचेको नेता नेपालको आरोप छ । जारी भएको संविधान ठूलो उपलब्धि भएको भन्दै उहाँले एमालेले चाहेजस्तो संविधान बनाउन नसकिएको बताउनुभयो । “अस्थिरताको कारक तल्लो सदनमा समानुपातिक प्रणाली राख्नु हो”– उहाँले भन्नुभयो ।
राजनीतिक क्रान्ति पूरा भएको भन्दै नेता नेपालले आर्थिक क्रान्तिका लागि राजनीति गर्नुपर्ने बताउनुभयो । कुरा भन्दा काम धेरै गर्नुपर्ने बताउँदै उहाँले व्यक्तिवाद, भ्रष्टाचार, गैरराजनीतिक प्रवृत्ति, स्वार्थका लागि गुटबन्दी गर्दा नेपाललगायत विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताउनुभयो ।
“बाबुराम भट्टराईले गोरखा पार लगाउन सकेनन्”– उहाँले भन्नुभयो– “अब नेकपा एमालेले गोरखाको विकास गर्छ । जनताले अरुलाई भन्दा एमालेलाई विश्वास गर्छन् ।” कम्युनिष्ट नेताले धर्म नमाने पनि जनताले धर्म मान्ने भएकाले मठमन्दिर भत्काउन नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य रामशरण बस्नेत, जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष विश्वेश्वर कट्टेललगायतले आउँदो निर्वाचनमा नेकपा (एमाले)लाई गोरखाको पहिलो पार्टी बनाउने गरी अभियान सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment