Wednesday, May 18, 2016

सङ्घीय गठबन्धनद्वारा थप आन्दोलनको घोषणा

काठमाडौँ, ५ जेठ । सङ्घीय गठबन्धनले बिहीबारदेखि काठमाडौँ केन्द्रित थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

गठबन्धनले आज रत्नपार्कमा आयोजना गरेको सभामा थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । भोलि बिहीबार मङ्गलबजार, ७ गते नयाँबानेश्वर, ८ गते स्वयम्भू, ९ गते चाबहिल, १० गते कीर्तिपुर, ११ गते भक्तपुर, १२ गते बालाजु, १३ गते कलङ्कीचोक, १४ गते मध्यपुरथिमीमा विरोधसभा गर्ने गठबन्धनका संयोजक उपेन्द्र यादवले घोषणा गर्नुभयो ।

काठमाडौँ केन्द्रित आन्दोलनको समर्थनमा १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि विरोधसभा गरिने भएको छ । आन्दोलन घोषणा गर्दै संयोजक यादवले ३६ पटक सरकारसँग वार्ता गर्दा पनि समस्याको समाधान नभएपछि राष्ट्रियता बलियो बनाउन आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनुभयो ।

“जनताको अधिकार प्राप्तिका लागि गरिएको शान्तिपूर्ण अहिंसात्मक आन्दोलनलाई सेना, प्रहरी र कानुन कसैले पनि रोक्न सक्दैन, पृथ्वीनारायण शाहले भूगोल एवम् प्रशासनिक रुपमा एकीकरण गरेको नेपाललाई भावनात्मक रुपमा एकीकृत बनाउन यो आन्दोलन सुरु गरेका हौँ”–उहाँले भन्नुभयो ।

सङ्घीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सङ्घीय सहअस्तित्वले मात्र मुलुकको रक्षा गर्नसक्ने बताउनुभयो । “नेपाल बाहिर नेपालको अस्तित्व सङ्कटमा परेकाले नेपालीको पहिचान कायम गर्न आन्दोलन गरेका हौँ” – उहाँले भन्नुभयो ।

सभामा गठबन्धनका नेता लक्ष्मणलाल कर्ण, महेन्द्रराय यादव, अनिल झा, डा आभाष लाभ, डा ओम गुरुङ, मनरत्न शाक्य, पर्शुराम तामाङलगायतका वक्ताले पहिचानसहितको १० प्रदेश निर्माण गर्ने गरी संविधानको पुनर्लेखन गर्न माग गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts