काठमाडौँ, १४ जेठ । अपाङ्गता भएकाले भूकम्पपछिको पुनःनिर्माणमा भौतिक संरचना अपाङ्गतामैत्री र अपाङ्गको पहुँचयुक्त बनाउनुपर्ने माग गरेका छन् ।
नेत्रहीन युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले भत्किएका साँघुरा सडक, रेलिङरहित पेटी, ढलको खुल्ला ढक्कन, सडक किनारमा थुपारिएका निर्माण सामग्रीलगायतको अवरोधका कारण दृष्टिविहीनको आवागमन नै कष्टकर भइरहेको गुनासो गरे ।
सङ्घका अध्यक्ष कलाधर भण्डारीले आफू कैयौँ पटक बाटामा हिँड्दा खाल्डोमा परेको बताउँदै भन्नुभयो– “त्यसले बिहान सकुशल घरबाट निस्किएका दृष्टिविहीन साँझ सकुशल नै फर्कनेमा आशङ्का हुन्छ । चोटपटक र घाउ लिएर दिनहुँ हिँड्नुपर्ने बाध्यता दृष्टिविहीनको छ ।”
अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका मात्र नभई गर्भवती र अशक्त ज्येष्ठ नागरिकलाई समेत यस्ता भौतिक संरचनाले असहज बनाइरहेकाले अब पुनःनिर्माण गर्दा त्यसतर्फ ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले बर्सेनि दुई हजार मानिसको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको जानकारी दिँदै त्यसमा अधिकांश अपाङ्गता भएका व्यक्ति पर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीले भौतिक संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकाको मानवअधिकारको उल्लङ्घन भइरहेको भन्दै राज्य, नागरिक समाज, गैरसरकारी संस्थालाई त्यसका लागि पहल गर्न आग्रह गरे ।
नेपालको कुल जनसङ्ख्याको करिब दुई प्रतिशत सङ्ख्या अपाङ्गता भएकाको छ । रासस
No comments:
Post a Comment