रत्ननगर (चितवन), २३ जेठ । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन पहिलो पटक यहाँ संयुक्त संरक्षण अपरेसन कक्ष स्थापना गरिएको छ ।
नेपाली सेना र चितवन निकुञ्जले यसअघि आ–आफ्नै तरिकाले संरक्षण कार्य र चोरी–सिकार नियन्त्रणका गतिविधि सञ्चालन गरिरहेका थिए । तर अब भने संयुक्त रुपमा अघि बढ्ने गरी अपरेसन कक्ष स्थापना गरिएको हो ।
विश्व वातावरण दिवसका अवसरमा उक्त कक्ष स्थापना गरिएको हो । आज उक्त कक्षको प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि उहाँले अपरेसन कक्षले संरक्षणमा थप उचाइ मिल्ने विश्वास गर्नुभयो । यसअघि नेपाली सेनाले यहाँ नेपालमै पहिलो पटक प्रकृति संरक्षण शिक्षालय स्थापना गरिसकेको छ ।
निकुञ्जको मुख्य कार्यालय नजिकै स्थापना गरिएको अपरेसन कक्षमा निकुञ्जका कर्मचारी र नेपाली सेनाका गरी पाँच जना चौबिसै घन्टा रहने निकुञ्जले जनाएको छ । उनीहरु उक्त संयुक्त कक्षमार्फत संरक्षण क्रियाकलापमा नियमित खटिने छन् ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सेना र निकुञ्जको संयुक्त गस्तीलाई प्रभावकारी बनाउन अपरेसन कक्ष स्थापना गरिएको बताउँदै विगत २ वर्षअघि देखि निकुञ्जमा गैँडाको चोरी–सिकार शून्य भएकाले यो उपलब्धि जोगाइराख्न पनि कक्ष प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
यही कक्षमार्फत रियल टाइम गस्ती परिचालन हुने जनाइएको छ । यसअघि निकुञ्जको सेनाले चलाइरहेको अपरेसन महाहन्टलाई पनि निरन्तरता दिएको निकञ्जको श्रीजङ गणले जनाएको छ ।
चितवन निकुञ्जमा २०७१ साल वैशाख २० गतेदेखि अहिलेसम्म २ वर्षभन्दा बढी समयमा वन्यजन्तुको चोरी–सिकार नभएको भन्दै निकुञ्जले संरक्षणमा खटिने सबैप्रति आभार प्रकट गरेको छ ।
सोही उपलब्धिलाई जगेर्ना गर्न विश्व वातावरण दिवसको सन्दर्भमा आज निकुञ्जमा शून्य चोरी–सिकार वर्षसमेत मनाइएको छ । संरक्षणमा यसैगरी अघि बढ्नसमेत सबैमा निकुञ्जले आग्रह गरेको छ । पछिल्लो समयमा चितवन निकुञ्जले प्रविधिको भरपूर उपयोग गरी संरक्षण कार्य अघि बढाउँदै आएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
यसैबीच, विश्व वातावरण दिवसको अवसरमा आज जिल्लामा विभिन्न कार्यक्रम भएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालयले सयौँ प्रहरी परिचालन गरेर चितवनका विभिन्न १३ स्थानमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनको पटिहानीमा स्थानीयवासीको सहभागितामा संरक्षणसम्बन्धी चेतनामूलक ¥याली तथा वातावरण मैत्री झोला वितरण गरिएको छ । रासस
No related posts.
No comments:
Post a Comment