रत्ननगर (चितवन), २३ जेठ । ‘हाम्रो मझेरी साहित्य सम्मान २०७३’ बाट चितवनका राससकर्मी नारायण ढुङ्गानासहित ११ जना स्रष्टालाई सम्मान गरिएको छ ।
लामो समयदेखि नेपाली भाषा, कला संस्कृति, साहित्य, पत्रकारिता र गीत–सङ्गीतको साधना समर्पित व्यक्तिहरुलाई सम्मान गरिएको हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले जानकारी दिनुभयो ।
प्रतिष्ठानको १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित हाम्रो मझेरी राष्ट्रिय साहित्य उत्सवका क्रममा भरतपुरमा उक्त सम्मान प्रदान गरिएको हो । प्रतिष्ठानले पत्रकार महासङ्घका केन्द्रीय सभासद्समेत रहनुभएका राससकर्मी ढुङ्गानालाई ‘हाम्रो मझेरी युवा पत्रकारिता सम्मान’, समालोचक डा एकनारायण पौडेललाई ‘हाम्रो मझेरी साहित्य सम्मान’, भारतका सङ्गीतकार मणिकमल क्षत्रीलाई ‘नातिकाजी सङ्गीत सम्मान’ र काठमाडौँका मणिराज सिंहलाई ‘महाकवि देवकोटा स्मृति साहित्य सम्मान’ प्रदान गरेको हो ।
यस्तै, स्याङ्जाकी गङ्गा कर्माचार्यलाई पारिजात स्मृति साहित्य सम्मान, चितवनकी सुमित्रा पौडेल आँचललाई नारी जागरण साहित्य सम्मान, बाँकेका विक्रम शिशिर चन्दलाई नेपाली कला साधक सम्मान, रुपन्देहीका निर्मल ढुङ्गानालाई युवा प्रतिभा सम्मान र रुकुमका भाष्कर काजीलाई गजल मोतीराम प्रतिभा सम्मान प्रदान गरिएको हो ।
यस्तै, गजल रत्न पुरस्कारबाट चितवनका कमल अर्याल धादिङको ‘तिमी आउनुअघि’ गजल सङ्ग्रहलाई र गजलश्री पुरस्कार मोरङकी पूजा आराधनाको ‘अनावरित अनुराग’ गजल सङ्ग्रहलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्सालले सम्मानित व्यक्तिलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सो क्रममा गजलको विशिष्ट कृति हैसियत–३, सानु शीतलको ‘जून फुलेको रात’, कमल अर्यालको ‘तिमी आएपछि’ र हाम्रो मझेरी साहित्य पत्रिकाको ५४औँ अङ्क विमोचनसमेत गरिएको थियो ।
कार्यक्रममा ४० भन्दा बढी साहित्यकारले गजल र रचना वाचन गरेका थिए ।
रासस
No comments:
Post a Comment