Monday, June 6, 2016

भवन निर्माणका लागि ‘तीन घुम्ती’ को प्रदर्शन

चितवन, २४ जेठ । नेपाल प्रेस युनियन चितवन शाखाको भवन निर्माणमा सहयोग जुटाउन प्रसिद्ध उपन्यासमा आधारित चलचित्र ‘तीन घुम्ती’को आज यहाँ च्यारिटी सो गरिएको छ ।

जननायक बिपी कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित यो चलचित्रको च्यारिटी सोबाट सङ्कलित रकम युनियनको भवन निर्माणमा खर्च गरिने भएको छ ।

नारीप्रधान उपन्यास तीन घुम्ती बिपीले सुन्दरीजल जेलमा लेख्नुभएको हो । सोही उपन्यासलाई जननायक बिपी कोइराला स्मृति ट्रस्टले चलचित्र बनाएको हो । बाबुराम ढकालले निर्देशन गर्नुभएको चलचित्रमा गरिमा पन्त, ध्रुव दत्त, सुशान्त कार्की, भुवन चन्द, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ लगायतको भूमिका रहेको छ ।

नारीको जीवनसँगै विद्रोह र प्रेमको चित्रण गरिएको यो चलचित्र असार १७ गते देशभर प्रदर्शनीको तयारीमा रहेको छ ।

वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले प्रदान गर्नुभएको जग्गामा भरतपुर उपमहानगरपालिका–११ बसेनीमा निर्माण भइरहेको नेपाल प्रेस युनियन चितवनको भवनको सहयोगका लागि च्यारिटी सो गरिएको संयोजक अनिल ढकालले बताउनुभयो । च्यारिटी सोबाट करिब सात लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts