काठमाडौँ, ३० जेठ । राष्ट्रिय बाल क्लब सञ्जालले दिन प्रतिदिन नेपाली समाजमा बढ्दै गएको बालश्रम अन्त्य गर्न अपिल गरेको छ ।
“बालश्रमको अन्त्यका लागि श्रमको क्षेत्रमा रहेका बालबालिकाको उद्धार पुनःस्थापना भई जीवनमा सकारात्मक परिवर्तन ल्याउने, भविष्य सुनिश्चित हुने र नतिजामुखी कार्यक्रम ल्याउनु जरुरी छ र पूर्णरुपमा कानुन, नीति नियमलाई कार्यान्वयन गर्नु आवश्यक छ”– अन्तर्राष्ट्रिय बालश्रमविरुद्ध विश्व दिवसका अवसरमा सञ्जालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले जनाएको प्रतिबद्धता र सरकारले बालबालिकासम्बन्धी ऐन, २०४८ र सोको नियमावली, २०५१ बालश्रम ९ निषेध र नियमित गर्ने ऐन, २०५६ र सोको नियमावली, २०६२ कार्यान्वयन गरिरहेको भए पनि व्याप्त गरिबी र चेतनाको अभावको कोखबाट जन्मेको बालश्रमकोे समस्या निर्मूल गर्ने कार्य अत्यन्त चुनौतीपूर्ण रहेको सञ्जालको भनाइ छ ।
‘उत्पादन तथा आपूर्ति शृङ्खलामा बालश्रमको अन्त्यः सबैको सरोकार’ भन्ने नाराका साथ आज विश्वभरि यो दिवस मनाइएको छ ।
बाल सम्बेदनशीलतालाई ध्यानमा राखेर बालबालिकाको समस्या र मुद्दामा सरकारी निकाय, गैरसरकारी निकाय, अभिभावकलगायत सम्पूर्ण सरोकारवालालाई बालबालिका माथि हुनसक्ने हिंसा, श्रमशोषण अन्त्य गर्नका लागि सबै सरोकारवाला व्यक्ति, निकाय एक भएर अगाडि बढ्नसमेत सञ्जालले अपिल गरेको छ । रासस
No comments:
Post a Comment