पोखरा, १० असार । उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिमा अस्थिरता ल्याउने गरी फोहरी खेल नखेल्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले जो सरकारमा आउन चाहनुहुन्छ आउनुहोस् सबै मिलेर देश बनाऔँ भन्नुभयो । जनताका अनुहारमा हाँसो र उज्यालो दिनु सबै राजनीतिक दलको दायित्व हो भन्दै राजनीतिक परिवर्तन भइसकेपछि अब देशमा आर्थिक समृद्धि र विकास भएमा मात्रै जनताको अनुहारमा खुसीयाली देख्न सकिने धारणा राख्नुभयो ।
बहुदलीय प्रजातन्त्रको व्यवस्थाको आगमनपछि २५ वर्षको समयावधिमा २३ वटा सरकार गठन भएको स्मरण गराउँदै उपप्रधानमन्त्री थापाले एक÷एक वर्षमा प्रधानमन्त्री फेर्दै गयौँ भने देश र दुनियाँमा के सन्देश जान्छ भनी चिन्ता व्यक्त गर्नुभयो ।
स्थानीय निकाय पुनःसंरचना आयोगले भदौभित्रै प्रतिवेदन दिन सक्यो भने मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन सजिलैसँग गर्न सकिने विचार व्यक्त गर्दै उहाँले सरकारले सबै राजनीतिक दलसँग सहमति कायम गरेरमात्रै चुनावको मिति घोषणा गर्ने बताउनुभयो ।
राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेसका जिल्ला सचिव सुदिपमोहन भट्टराई, पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, र गीता गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment