गाईघाट (उदयपुर), ११ असार । निरन्तर वर्षा सुरु भएसँगै उदयपुर जिल्लाको पूर्वी क्षेत्रको जोगिदह गाविसको वडा नं २, ३ र ६ का बीचमा पर्ने कङगखोला र हाड खोलामा आएको बाढीले स्थानीय नदी क्षेत्रका जग्गा कटान गर्न थालेपछि सो क्षेत्रका ५०० घर परिवार उच्च जोखिममा परेका छन् ।
दुई दिनदेखि भएको निरन्तर वर्षासँगै कङग खोलामा आएको बाढीले जोगिदह –२ बरगाछी क्षेत्रमा सात बिगाहा नम्बरी जग्गा कटान गरेको स्थानीय समाजसेवी नारायण ढकालले बताउनुभयो । कङग खोलाले अस्थायी तटबन्धन भत्काएर गाउँ प्रवेश गर्न थालेका कारण अहिले वडा नं २ बरगाछी तथा रुपनी क्षेत्रका ५०० घर परिवारसमेत उच्च जोखिममा परेको स्थानीय अग्निधर खनाल बताउनुहुन्छ ।
लामो समयदेखि नदी नियन्त्रणका लागि स्थायी तटबन्ध नहुँदा अहिले वर्षा सुरुसँगै आएको बाढीका कारण सो क्षेत्रका बरगाछी, सनीबारे, रुपनीलगायतका टोलका घर बाढीको उच्च जोखिममा परेको खनालले बताउनुभयो ।
भर्खरै वर्षासँगै बाढी आउन थालेपछि गाउँलेले नदी नियन्त्रण गर्न बनाएको अस्थायी तटबन्ध बाढीले भत्काएका कारण नदी गाउँमा प्रवेश गर्न थालेको कुरा स्थानीय देवराज ढकाल बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “सम्बन्धित निकायबाट तटबन्धन निर्माणमा ध्यान गएको छैन, तारजाली तथा बजेटको समेत व्यवस्था नहुँदा गाउँलेले बाँसको टाटी र बालुवाले निर्माण गरेको अस्थायी तटबन्ध बर्सेनि भत्किने गरेको छ ।”
स्थायी तटबन्धन नहुँदा २०४० सालदेखि अहिलेसम्म कङग खोला र हाड खोलाले गरेर झन्डै हजार बिगाहा नम्बरी जग्गा कटान गरेर बगरमा परिणत गरेको छ ।
जिल्ला भू–संरक्षण कार्यालयले दिएको १०÷१५ वटा जाली र गाउँलेले बनाएको बाँसले अस्थायी बाँधले नदी नियन्त्रण नहुँदा बर्सेनि आफूहरु नदी कटानको जोखिममा पर्दै जान परेको स्थानीयवासी बताउँछन् ।
दुई दिनदेखि निरन्तर वर्षा हुन थालेसँगै कङग खोलामा आएको बाढीले गाउँमा प्रवेश गरेर नम्बरी जग्गा कटान गर्न थालेपछि अहिले जोगिदह क्षेत्रका स्थानीय बासिन्दा त्रसिद बन्न पुगेका हुन् । रासस
No related posts.
No comments:
Post a Comment