पोखरा, २० जेठ । गणेश गुठी सेवा समिति गणेशटोल पोखराले यस वर्षको वीरेन्द्र दीप प्रतिष्ठान पुरस्कारबाट पाल्पाको भीमसेन मन्दिर गुठीलाई सम्मान गर्ने भएको छ ।
विसं १८७२ मा स्थापित पुरानो ऐतिहासिक गुठीलाई रु ५० हजार ५५५ सहित सम्मान गरिने गुठीका सचिव जयदेव मुल्मीले जानकारी दिनुभयो । गुठीका अध्यक्ष वीरेन्द्रकुमार बाटाजुको चौरासी पूजाका अवसरमा उहाँको परिवारबाट समितिका नाममा रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको थियो । सोही अक्षयकोषको ब्याज रकमबाट सनातन धर्म, संस्कृतिको प्रतिरक्षार्थ समर्पित भएका व्यक्तिविशेष वा अनुसन्धान गर्ने कृतिका रचनाकार वा मठमन्दिर र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्ति वा समूहलाई सो पुरस्कार दिइने बताइएको छ ।
दुई दुई वर्षमा वितरण गरिने सो पुरस्कार यसअघि तनहुँ देवघाटधामस्थित हरिहर सन्यास आश्रमका पीठाध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिएको थियो । रासस
No comments:
Post a Comment