काठमाडौँ, २८ जेठ । वरिष्ठ बाल साहित्यकार शान्तादास मानन्धरले बाल साहित्यका विषयमा धेरै लेख्न बाँकी रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता नेपाल, बाल साहित्य विभाग र साहित्य सदन नेपालको सहकार्यमा आयोजित ‘बाल साहित्य गोष्ठी’मा उहाँले भन्नुभयो, “बालसाहित्य लेख्नु चुनौतीपूर्ण छ । बालबालिकाको मनोभावलाई बुझेर मात्र लेखकले लेख्नुपर्छ ।”
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले प्रतिष्ठानले आगामी दिनमा बाल साहित्यका सबै विधामा कार्यक्रम गर्ने जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठान बाल साहित्य विभागका प्रमुख नर्मदेश्वरी सत्यालले बाल नाटकका विषयमा अझ धेरै खोजी गर्नुपर्ने औँल्याउनुभयो ।
कार्यक्रममा ‘नेपाली बाल नाटकको सर्भेक्षण’ विषयको कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार प्रभात सापकोटाले कथा, कविताका तुलनामा बाल नाटकको इतिहास छोटो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक विसं २०१६ मा श्यामदास वैष्णवको ‘अगुल्टो’ एकाङ्की प्रकाशन भएपछि मात्रै नेपाली बाल नाटकको पहिलो पाठ्य र मञ्च सामग्री प्राप्त भएको हो । विसं २०३७ मा रमेश विकलको ‘सात थँुगा’ बाल नाटक सङ्ग्रह प्रकाशन भएयता हालसम्म दुई दर्जनभन्दा बढी बालनाट्य प्रकाशन भएका छन् ।”
कार्यक्रममा विभिन्न विद्यालयबाट आएका १५ बालबालिकाले आफूले रचना गरेका कविता वाचन गरेका थिए । रासस
No comments:
Post a Comment