भक्तपुर, २८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको कुनै पनि योजनामा बजेट विनियोजन गर्दा नेमकिपा मात्रै हो भन्ने भ्रम राख्न नहुने बताउनुभएको छ ।
सांसद कोषअन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत आज क्षेत्र नं २ को विकासका योजनाको अनुगमनका क्रममा भक्तपुर क्यान्सर अस्पताल पुगेका सांसदसहितको टोली र क्यान्सर अस्पतालबीच भएको अन्तक्र्रियामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
“भक्तपुरमा आउने बजेटसँग नेमकिपालाई नै दिने जसरी हेर्नु भएन, यहाँ आउने बजेट नेमकिपालाई नभई यहाँको विकासका लागि हो” बिजुक्छेले भन्नुभयो– “भक्तपुर क्यान्सर अस्पताललाई दिने बजेट पनि नेमकिपाको लागि हो भन्ने भ्रम त्यागेर देशभरबाट आउने बिरामीका लागि हो भन्ने सोचेर बजेट दिनुपर्छ ।”
भक्तपुर क्यान्सर अस्पताललाई सबै मेसिन र प्रविधिबाट सुविधा सम्पन्न बनाउन सके क्यान्सरको उपचारका लागि नेपालका कोही बिरामी पनि विदेश जानु नपर्ने औल्याउँदै उहाँले भन्नुभयो– “मर्ने बेलामा पनि शान्तिसँग मर्न पाउने सुविधा अस्पतालले दिनसक्ने बनाउनुपर्छ ।”
कार्यक्रममा भूमिसुधार सहायकमन्त्री दिनेश श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको चर्चा गर्दै सरकारी क्यान्सर अस्पतालका सुविधा सम्पन्न मेसिन बिगारेर कमिसनका लागि निजीमा पठाउने गर्दा पनि रोक्न नसक्दा लाचार हुनुपरेको बताउनुभयो ।
क्यान्सर रोग पत्ता लगाउने मेसिन ल्याउन सरकारले बजेट विनियोजन गर्दा पनि नसकेको बताउँदै सहायक मन्त्री श्रेष्ठले भन्नुभयो– “सरकारले तीन वर्षअघि पेट स्क्यानिङ मेसिन ल्याउन बजेट विनियोजन ग¥यो, तर कमिसनको खेलका कारण अझै त्यो मेसिन नल्याइनु विडम्बना भएको छ ।”
कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेलले भक्तपुर अस्पतालका लागि सरकारले दिँदै आएको अनुदानमा कटौती गर्न नहुनेमा जोड दिँदै अस्पतालको विकासका लागि सबै सांसद एक भएर लाग्नुपर्ने बताउनुभयो ।
सांसद प्रेम सुवाल, अनुराधा थापामगर, स्थानीय विकास अधिकारी ध्रुव कोइराला, जिल्ला प्राविधिक कार्यालयका प्रमुख माधवजङ्ग कार्की, जिल्लाका प्राविधिक, जिविसका कर्मचारी तथा सञ्चारकर्मीको टोलीले भक्तपुर क्षेत्र नं २ निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट भएको विकास निर्माणको प्रगतिका बारेमा अनुगमन गर्नुभएको थियो । रासस
No comments:
Post a Comment