काठमाडौँ, ९ असार । नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनले प्रतिष्ठानको ५९औँ जन्मजयन्तीका अवसरमा ‘मै बनाउँछु मेरो धरहरा’ अभियानलाई सहयोग गर्ने उद्देश्यले विशेष पदयात्रा सम्पन्न गरेका छन् ।
कर्मचारी तथा कलाकारले कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानदेखि घन्टाघर, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै धरहरासम्म पदयात्रा गरेका हुन् । उक्त पदयात्राको कुलपति गङ्गाप्रसाद उप्रेतीले शुभारम्भ गर्दै भूकम्पले भत्किएको ऐतिहासिक सम्पदाका रुपमा धरहरा पुनःनिर्माणका लागि प्रतिष्ठानका कलाकार तथा कर्मचारीले गरेको प्रयत्नको प्रसंशा गर्नुभयो । उहाँले प्रतिष्ठानको पदाधकारी तथा परिषद्का सदस्यबाट अभियानलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पेसागत महासङ्घका उपाध्यक्ष प्रेमल खनाल, सार्वजनिक संस्था कर्मचारी सङ्गठनका अध्यक्ष गोविन्द पौडेललगायतले उक्त अभियानलाई सहयोग गर्ने बताउँदै धरहरा निर्माण नहुँदासम्म सो अभियानलाई जारी राख्न आग्रह गर्नुभयो ।
सङ्गठनका अध्यक्ष विक्रम मैनालीले धरहरा पुनःनिर्माणका सन्दर्भमा पुनःनिर्माण प्राधिकरणले आवश्यकता महसुस गरी श्रमदानका लागि आग्रह गरेमा आफ्नो संस्था तयार रहेको बताउनुभयो । उक्त संस्थाले आजै रु ४० हजार १५९ आर्थिक सहयोग प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो । रासस
No comments:
Post a Comment