पोखरा, ३० जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय संरचनालाई आधार बनाएर एकीकृत सेवाको विकास गर्नुपर्ने बताउनुभएको छ ।
कास्की जिल्लाको उत्तर–पूर्वका छ गाविस र लेखनाथ नगरपालिकाका वासिन्दालाई प्रशासनिक सेवा प्रवाह गर्ने उद्देश्यले लेखनाथको खुदीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पहिलो सेवाग्राही अस्मिता ओझालाई नागरिकताको प्रमाणपत्र वितरण गर्दै उहाँले राजनीतिक परिवर्तनपछि नेपाली जनताले आर्थिक समृद्धिको सपना देखेको सपना पूरा गर्न सम्पूर्ण समुदाय सङ्गठित भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
गृहमन्त्री बस्नेतले प्रदेश नं ४ को राजधानीका रुपमा लेखनाथलाई विकास गर्न सकिने उल्लेख गर्दै, अब विकास पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखरा र लेखनाथलाई विकासका हिसाबले विभेद गर्न नहुने उल्लेख गर्दै समग्र उपत्यकाकै विकास खाका कोरिनुपर्नेमा जोड दिनुभयो ।
सभासद् यज्ञबहादुर थापाले लेखनाथलाई प्रदेश नं ४ को राजधानीका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले क्षेत्रीय बसपार्क र अन्तर्राष्ट्रिय सम्मेलन हल निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।
सभासद् शारदा पौडेलले इलाका प्रशासन कार्यालय सेवामैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले इलाका प्रशासन कार्यालयलाई सघाउनसमेत स्थानीयसँग आग्रह गर्नुभयो । सभासद् जीवन परियारले सडक, पुललगायतका विकासका साथै प्रशासनिक सेवा विस्तार पनि विकासको आधार भएको बताउनुभयो ।
क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले प्रशासनिक कार्यालयबाहेक अन्य कार्यालय स्थापना गरी सेवा दिइने बताउनुभयो । उहाँले पोखरा र लेखनाथबाट सेवा प्रवाह हुँदा छिटोछरितो हुने उल्लेख गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा भएको इलाका प्रशासन उद्घाटन कार्यक्रममा इप्रकाका प्रमुख दीपेन्द्र पौडलले केन्द्रबाट प्रवाह हुने सेवाका विषयमा जानकारी गराउनुभएको थियो ।
इप्रकाबाट लेखनाथ नपा–१८ वटा वडा, कास्की जिल्लाका रुपाकोट, थुम्की, देउराली, सिद्ध, हंसपुर, माझठानाका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । इलाका प्रशासन कार्यालय स्थानीय सरस्वती प्राविको भवनमा रहेको छ । बाइस रोपनी जग्गा रहेको विद्यालय प्राङ्गणमा अन्य कार्यालयसमेत स्थापना गर्न सकिनेछ । विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून भएपछि उक्त विद्यालय त्रिभुवन शान्ति उच्च माविमा गाभिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment