Monday, June 13, 2016

गठबन्धनको अनशनमा नेता वैद्यको ऐक्यबद्धता

काठमाडाँै, ३१ जेठ । विभिन्न २६ बुँदे माग राखी सङ्घीय गठबन्धनले खुलामञ्चमा जारी राखेको रिले अनशनमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले ऐक्यबद्धता जनाउनुभएको छ ।

अनशनस्थलमा आज दिउँसो पुगी वैद्यले ऐक्यबद्धता जनाउनुभएको हो । अनशनलाई ऐक्यबद्धता जनाउँदै वैद्यले सङ्घीय गठबन्धनले उठाएका माग जायज भएकाले आफ्नो समर्थन रहेको बताउनुभयो । उहाँले अहिलेको संविधान जनताको संविधान नभएकाले सबैलाई समेट्ने किसिमको संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको संविधानले आदिवासी जनजाति, पिछडिएका जनतालाई संविधानले समेट्न सकेको छैन”– उहाँले भन्नुभयो, “यो प्रतिगामी संविधानको विरुद्ध जनताको संविधान बनाउनु पर्दछ ।” वैद्य माओवादीका अर्का नेता सिपी गजुरेल उहाँसँगै अनशनस्थल पुग्नुभएको थियो ।

यसैगरी, गठबन्धनका संयोजक तथा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । उहाँले आन्दोलनको स्वरुप परिवर्तन गरेर आन्दोलन गरिने बताउनुभयो ।

जेठ २५ गतेदेखि सुुरु भएको रिले अनशनमा आज सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, तराई–मधेस सद्भावना पार्टीका सहअध्यक्ष रामचन्द्र कुशवाह, राष्ट्रिय मधेस समाजवादी पार्टीका केशव झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का सुरिता यादवलगायत ३० जना नेता अनशनमा बस्नुभएको छ । असार मसान्तसम्म चल्ने रिले अनशन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts