दाङ, २६ जेठ । शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले अब मुलुक आर्थिक संवृद्धिमा अघि बढ्ने बताउनुभएको छ ।
नेपाल परिवार दल दाङले आज दाङको घोराहीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा ढकालले सो कुरा बताउनुभएको हो ।
उहाँले देशमा अब १० वर्षसम्म आर्थिक विकास गरी १० गुणाले देशको विकास गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
“देशको आर्थिक विकासका लागि सबै अघि बढ्न पर्छ”, मन्त्री ढकालले भन्नुभयो – “तब मात्र मुलुक संवृद्धिको बाटोमा जाने छ ।”
उहाँले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।
आन्दोलनको नाममा कानुन विपरीत कार्य गर्नेलाई सरकारले कारबाही गरेर छाड्ने उहाँको भनाइ थियो । फरक प्रशङ्गमा मन्त्री ढकालले सरकारले ल्याएको बजेटमा सांसद र कर्मचारीको तलब भत्ता वृद्धि गरिएकामा असन्तुष्टि पोख्नुभयो ।
“अहिले भूकम्पले अस्तव्यस्त पारेको समयमा पुनःनिर्माणको बेला तलब भत्ता वृद्धि गरिन हुँदैन थियो । तर सरकारले वृद्धि गरेको छ”, उहाँले भन्नुभयो – “यो कार्य राम्रो छैन । यो सच्याउनुपर्छ ।” रासस
No related posts.
No comments:
Post a Comment