काठमाडौँ, १३ असार । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको नेपाल प्रतिनिधि किभिन जे एलेनले आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
एलेनले आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आफ्नो ओहदाको पत्र बुझाइ कार्यारम्भ गर्नुभएको हो । राष्ट्रसङ्घीय सेवामा उहाँ सन् १९९९ मा प्रवेश गर्नुभएको थियो । एलेनले ताजकिस्तान, जापान, अफगानिस्तान, मेक्सिको, केन्या र संयुक्त राज्य अमेरिकामा काम गरिसकेको अनुभव छ । उहाँ नेपाल आउनुअघि ताजकिस्तानमा कार्यरत हुनुहुन्थ्यो ।
ओहदाको प्रमाणपत्र बुझाएपछि एलेनले नेपाल सरकारले विगतदेखि नै विभिन्न कारणले आफ्नो देश छाडेर नेपालमा शरणार्थी भएकालाई आश्रय दिएर मानवीय व्यवहार गर्दै आएकाप्रति प्रशंसा गर्दै यस्ता कामलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शरणार्थीको हितका लागि नेपाल सरकार र अन्य सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । भुटानी शरणार्थीको पुनर्वासका लागि तेस्रो मुलुक अमेरिका, बेलायत, क्यानाडालगायत आठ देशमा हालसम्म एक लाख तीन हजार पुनर्वास गरिएको र बाँकी १५ हजार ५०० लाई लैजाने क्रममा रहेको राष्ट्रसङ्घले जनाएको छ । सन् २००७ बाट सुरु भएको उक्त कार्यक्रम सन् २०१७ मा सकिँदैछ । रासस
No related posts.
No comments:
Post a Comment