काठमाडौँ, २५ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गायक तथा सङ्गीतकार स्वर्गीय अम्बर गुरुङ नेपाली गीत–सङ्गीत आकाशका एक उज्ज्वल तारा हुनुहुन्थ्यो र यस क्षेत्रको श्रीवृद्धिमा उहाँको महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभएको छ ।
सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय गानका सङ्गीतकारसमेत रहनुभएका गुरुङको निधनबाट राष्ट्रले हजाराँै गीतका एक वरिष्ठ सङ्गीतकार गुमाएको, गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको र यो क्षेत्र अभिभावकविहीन बन्न पुगेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा सभापति देउवाले स्व गुरुङले नेपाली गीत–सङ्गीतका क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँँप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
विज्ञप्तिमा सभापति देउवाले भन्नुभएको छ – “उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”
यसैबीच, स्व गुरुङको निधनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै शोक विज्ञप्ति प्रकाशित गरी नेपाली गीत–सङ्गीतका उज्ज्वल नक्षत्र एवम् अथक साधक, राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको निधनले आफूलाई दुःखी र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा कालजयी गीत–सङ्गीतका सिर्जनाका कारण यसका पारखीमाझ गुरुङ सधैँ अमर रहनुहुनेछ । उहाँको निधनले नेपाली गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँले स्व गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
वरिष्ठ गायक तथा सङ्गीतकार गुरुङको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment