Tuesday, June 7, 2016

देवानगन्ज गाविस खुला दिसामुक्त

इटहरी, २५ जेठ । सुनसरी जिल्लाका गाविस तथा नगरपालिकालाई खुला दिसामुक्त घोषित गर्ने क्रममा आज जिल्लाको दक्षिणी क्षेत्रमा रहेको देवानगन्ज गाविसलाई खुला दिसामुक्त गाउँ घोषित गरिएको छ । यो गाउँ जिल्लाको ३९ गाविसमध्ये खुला दिसामुक्त गाविसमध्ये ३३औँ स्थानमा आउन सफल भएको छ ।

विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर देवानगन्ज गाविसमा रहेका एक हजार दुई सय ४५ घरमा नै चर्पी बनाएर प्रयोगमा ल्याइएपछि आज सांसद सीताराम मेहताले देवानगन्ज गाविसलाई खुला दिसामुक्त गाउँ घोषणा गर्नुभयो । सो अवसरमा उहाँले गाउँघर र परिवारको सफाइले मानिसको धनसमेत जोगिने भएकाले गाउँघर र व्यक्तिगत सफाइ महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो ।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समिति तथा सिएसडिसी र वेल संस्थासमेतको सक्रियतामा देवानगन्ज गाविसलाई खुला दिसामुक्त घोषणा गराउने सफलता प्राप्त भएको हो ।

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर धर्मेन्द्रराज केशरी, इन्जिनियर रामप्रसाद यादव तथा स्थानीय राजनीतिक दलका नेताहरुले पनि बोल्नुभएको थियो । कार्यक्रम गाविसका सचिव केशव पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts