Sunday, June 26, 2016

सरकारले कुरा सुन्न चाहेन : नेका

काठमाडौँ, १२ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद आनन्द ढुङ्गानाले ‘भूकम्पपीडित जनताको मागलाई आफ्नो दलले सदनमा कुरा उठाउँदा सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो ।

भूकम्पपछि तत्कालीन सदनले पुनःनिर्माण कार्य अघि बढाउन सङ्कल्प पारित गरेको स्मरण गराउँदै उहाँले सो प्रस्ताव कार्यान्वयन गर्न सरकार उदासीन बनेको बताउनुभयो ।

सांसद ढुङ्गानाले सरकारले ल्याएको बजेट र विनियोजन छलफलमा काँग्रेसले रचनात्मक सहयोग गर्ने जानकारी दिँदै ‘सरकार मेरो गोरुको बारै टक्का’मा चल्न सक्दैन भन्नुभयो ।

उहाँले भन्नुभयो – सदन कसैको पेवा होइन, सार्वभौम जनताको हो । सदनमा उठान भएको कुरामा सरकार किन गम्भीर बन्न नसकेको ?
भूकम्पपीडित जनतलाई घर बनाउन एकमुष्ट रु दुई लाख दिने सरकारको लिखित प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने उहाँले अडान राख्नुभयो ।

यसपछि प्रतिपक्षी दल नेकाका सांसदहरु आ–आफ्ना आसनबाट उठ्नुभएको थियो । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा भूकम्प पुनःनिर्माणका बारेमा सविस्तार जानकारी दिन बोल्न खोज्नुभएको जनाउ दिँदै अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।

तथापि, प्रतिपक्षी सांसदहरु उठिरहेका कारण सभामुख घर्तीले बैठक आधा घन्टाका लागि स्थगन गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts