काठमाडौँ, २७ जेठ । परराष्ट्र सचिव शङ्करदास बैरागीले गणतन्त्र कोरियाको राजधानी सिउलमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को कार्यालयमा आज भ्रमण गरी नियोगको परियोजना तथा क्षेत्रीय सहयोगका उपाध्यक्ष सुङ्घो चोइसँग द्विपक्षीय वार्ता गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष चोइले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा सहयोग तथा नेपालमा कोइकाका बर्तमान तथा भविष्यका आयोजनाबारे जानकारी दिँदै भविष्यमा नेपाललाई सहायता विस्तार गर्ने कुरालाई कोइकाले सकारात्मक रुपमा लिने बताउनुभयो ।
भेटका अवसरमा परराष्ट्र सचिव बैरागीले नेपाल र गणतन्त्र कोरियाबीच लामो र फलदायी सहयोग रहेकामा खुसी व्यक्त गर्दै कोइकाले नेपालमा गरेको सहयोगप्रति सराहना व्यक्त गर्नुभयो ।
उहाँले कोइकालाई घर निर्माण, स्वास्थ्य पूर्वाधार निर्माण तथा भूकम्प प्रतिरोधी संरचना बनाउने प्राविधिक जनशक्तिको क्षमता वृद्धिमा सघाउन पनि आग्रह गर्नुभयो । दुवै पक्षले उद्योग, व्यापार, जलवायु परिवर्तन, जल व्यवस्थापन तथा लुम्बिनीलाई विश्वशान्ति सहर बनाउने गुरुयोजना लागू गर्ने कुरामा पनि छलफल गर्नुभयो ।
अपराह्न परराष्ट्र सचिव बैरागीले सिउलमा सुरु भएको ३१औँ कोरिया वल्र्ड ट्राभल फेयरको भ्रमण गरी नेपाली कक्षको अवलोकन गर्नुभयो । नेपालमा भूकम्पपछिको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्डसँगै मेलामा सहभागिता जनाएको छ । रासस
–––––––––
No comments:
Post a Comment