काठमाडौँ, २ असार । आन्दोलनरत सङ्घीय गठबन्धनले सरकारले वार्ताको वातावरण बनाएको खण्डमा वार्तामा बस्ने निर्णय गरेको छ ।
तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै आफ्ना मागप्रति सरकार लचकताकासाथ प्रस्तुत भएमा वार्तामा जाने निर्णय गरेको हो ।
वार्ताको उपयुक्त वातावरण बने सरकारसँग वार्ता गर्ने निर्णय भएको गठबन्धनको एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राससलाई जानकारी दिनुभयो ।
“हामी पहिला पनि वार्ताकै पक्षमा थियौँ, वार्ताको वातावरण बनाएको खण्डमा अहिले पनि वार्ताबाटै समस्याको समाधान चाहन्छौँ, यसप्रति सरकारले गम्भीरता देखाउनुपर्छ,”–उहाँले भन्नुभयो ।
यसैबीच गठबन्धनको बैठकलगत्तै आज साँझ बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले पनि सरकारले वार्ताको वातावरण बनाएमा वार्तामा बस्ने निर्णय गरेको छ । बैठकले मधेसी मोर्चामा आबद्ध सङ्घीय गठबन्धनलाई पनि वार्तामा बोलाउन सरकारको ध्यानाकर्षण गराएको सद्भावना सहअध्यक्ष कर्णले बताउनुभयो ।
उहाँले मोर्चाको पछिल्लो मधेस आन्दोलनमा घाइतेको उपचार खर्च, न्यायिक छानबिन आयोग गठनलगायत चारबुँदे मागप्रति सरकारले लचकता अपनाए वार्ताका लागि आतुर रहेको पनि बताउनुभयो । रासस
–––––––––
No related posts.
No comments:
Post a Comment