काठमाडौँ, १२ असार । नेपाली काँग्रेस काठमाडौँले भूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
भूकम्प गएको १४ महिना बितिसक्दा पनि सरकारले काठमाडौँकै भूकम्पपीडितको लगत सङ्कलन नगरेको, हजारौँ जनताको घर भत्किएर पुनःनिर्माण गर्नुपर्ने समयमा नक्सा पास, घरजग्गा करलगायत वृद्धि गरिएको विरोधमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धर्नासहित ज्ञापनपत्र बुझाइएको सभापति कृष्ण (सबुज) बानियाँले राससलाई जानकारी दिनुभयो ।
“काठमाडौँमा भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा ढिलाइ गरिएकाले तुरुन्त सुरु गर्न र वृद्धि गरिएको करको दर पुरानै कायम गर्न माग गरेका छौँ, माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुनेछौँ”– उहाँले भन्नुभयो । ज्ञापनपत्र बुझाउन सांसद नवीन्द्रराज जोशी, दीपकप्रसाद कुइँकेल, राजन केसी, मोहन राई, राज्यलक्ष्मी श्रेष्ठलगायत काँग्रेसका नेता कार्यकर्ता प्रशासन कार्यालय बबरमहल पुग्नुभएको थियो ।
काँग्रेस केन्द्रीय समितिको आह्वानमा आज उपत्यकालगायत भूकम्पले अति प्रभावित १४ वटै जिल्लामा ज्ञापनपत्र बुझाइएको छ । रासस
No comments:
Post a Comment