काठमाडाँै, ८ असार । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सरकारले स्थानीय निकायको निर्वाचन गराउन कानुन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा दलबीच भएको सहमतिकै आधारमा सरकारले निर्वाचनको कार्यतालिका तय गरेको बताउँदै संविधानअनुसार निश्चित समयमा चुनाव हुन नसकेमा मुलुकमा जनप्रतिनिधिविहीनकोे अवस्था आउने उल्लेख गर्नु भयो ।
उपप्रधानमन्त्री रावलले नेपाली काँग्रेससहित असन्तुष्ट पक्षसँग सहमति कायम गरेर नै सरकारले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गर्ने स्पष्ट पार्दै सरकारले घोषणा गरेअनुसारको निर्वाचन आर्थिक, प्राविधिक, सुरक्षालगायतका सबै हिसाबले सम्भव रहेको छ भन्नु भयो ।
उहाँले गणतन्त्रका विपक्षमा रहेको राप्रपा नेपाल र सङ्घीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चा संविधान कार्यान्वयनको विपक्षमा नरहेको बताउँदै सरकारमा सहभागी दल सरकार र सदनमा विपक्षमा नरहेको स्पष्ट पार्नु भयो । मधेसमा दुई प्रदेश बनाउनुपर्ने मागलाई दोस्रो संविधानसभाको निर्वाचनमार्फत अभिव्यक्त जनादेशले नै अस्वीकार गरिसकेको उहाँले बताउनुभयो । भूकम्पपीडितका लागि सामूहिक आवास बनाउने कार्य तीव्र गतिमा बढिरहेको जानकारी दिँदै रक्षामन्त्री रावलले त्यसका लागि पुनःनिर्माणमा नेपाली सेनालाई परिचालन गरेर निर्माण कार्य भइरहेको र पीडितलाई प्राधिकरणमार्फत अनुदान रकम दिने कामसमेत अघि बढिरहेको उल्लेख गर्नु भयो । रासस
No comments:
Post a Comment