इटहरी, ३० जेठ । उत्पादन र आपूर्तिमा बालश्रमको अन्त्य भन्ने नाराका साथ एक वर्षअघिदेखि इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका होटल, लज र रेस्टुराँमा विशेष गरी बालिका वा बालकलाई श्रममा लगाउन नपाइने आचारसंहितालाई कार्यान्वयनमा ल्याइएको छ ।
प्लान नेपालको सहयोगमा इटहरी उपमहानगरपालिका, उप्का नेपाल र होटल लज एवम् रेस्टुराँ व्यवसायी सङ्घ समेतको सहकार्यमा जारी आचारसंहिताको सूक्ष्म ढङ्गले पालना गर्ने आज पाँच जना होटल, लज र रेस्टुराँ व्यवसायीलाई आज सम्मान गरिएको हो ।
बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७२ को अवसर पारेर इटहरी आयोजित विशेष कार्यक्रममा रोयल रिसोर्टका सञ्चालक अमृत कार्की, मितेरी होटलका सञ्चालक गोविन्द थापा, पूजा कोल्ड ड्रिङ्कसकी सञ्चालिका रुपा कार्की, बी एन्ड बेस्ट मःम हाउसका सञ्चालक दीपक पोख्रेल कट्वाल र होटल सञ्चालक मणिन्द्र कट्वाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा झन्डै ५०० भन्दा बढी होटल, लज, रेस्टुराँ र रिसोर्ट रहेका छन् । तीमध्ये आचारसंहितामा उल्लेख भएका बुँदालाई अक्षरशः पालन गरेको तथा होटल लज र रेस्टुराँलाई मर्यादित एवम् सफा राखेको कदरस्वरुप उहाँहरुलाई सम्मान गरिएको हो । इटहरी क्षेत्रका होटल, लज र रेस्टुराँको निगरानी सिसी टिभीमार्फत गरिँदै आइएको छ । रासस
No comments:
Post a Comment