कावासोती, ४ असार । एसएलसी परीक्षा २०७२ मा दृष्टिविहीनतर्फ सौगात वाग्ले सर्वोत्कृष्ट भएको दाबी गरिएको छ ।
नवलपरासीको देवचुली नगरपालिका–३ का सौगात वाग्लेले अमरसिंह नमुना उच्च मावि पोखराबाट एसएलसी दिनुभएको थियो । प्रारम्भिक कक्षामा गाउँमै पढेका उहाँ पछि आँखाले नदेख्ने समस्या भएपछि ब्रेललिपीमा पढ्नका लागि पोखरा जानुभएको थियो ।
आमा बाबुभन्दा बाहिर बसेर दृष्टिविहीन बालकले उत्कृष्ट नतिजा ल्याएको भन्दै गाउँभरि खुसीयाली मनाइएको छ । लेटर ग्रेडिङ (जिपीए) अनुसार उहाँले ‘ए प्लस’ अर्थात् ३.८० जिपिए ल्याएर सफल हुनुभएको हो । वाग्लेले जति अन्य दृष्टिविहीन विद्यार्थीले अङ्क नल्याएको दाबी अमरसिंह नमुना उच्च माविका प्राचार्य तेजस्वी वाग्लेले गर्नुभएको छ ।
विसं २०५८ वैशाख २८ गते जन्मेका वाग्लेले कक्षा ३ बाट ब्रेललिपी पढ्न थाल्नुभएको हो । छोराको नदेख्ने समस्या भएपछि पोखरा लगेर पढाउनु प¥यो आज उसले हासिल गरेको नतिजाले खुसीको सीमा छैन आमा सरस्वती वाग्लेले भन्नुभयो ।
वाग्लेको घरमा बाबा, आमा, दिदीभाइ र आफू गरी पाँच जनाको परिवार रहेको छ । वाग्लेको भाइलाई पनि दृष्टिमा केही समस्या रहेको छ । सौगातले अब व्यवस्थापन सङ्काय पढ्ने योजना रहेको जानकारी दिनुभयो । छोराको भविष्यका लागि सङ्घसंस्थाको सहयोग पाए छोराको इच्छाअनुरुप सौगातलाई काठमाडौँमा राखेर व्यवस्थापन पढाउने आमा सरस्वतीले बताउनुभयो । रासस
–––––––––
No comments:
Post a Comment