काठमाडौँ, २२ जेठ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले मुख्य राजनीतिक शक्ति सहमतिकासाथ अगाडि बढ्नुपर्ने मान्यतामा आफू दृढ रहेको दोहो¥याएको छ ।
संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रियहितको रक्षा र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न राष्ट्रिय सहमतिको दिशामा निरन्तर प्रयास गरिएको र सो मान्यतामा पुनः जोड दिँदै राजनीतिक स्थायित्व र राष्ट्रिय हित तथा स्वाधीनताका लागि सबै राजनीतिक दललाई सहमतिमा आउन एमालेले पुनः आह्वान गरेको छ ।
बजेटपछि सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रलाई दिने भन्ने ‘भद्र सहमति’को चर्चाका सन्दर्भमा भने एमालेको औपचारिक निर्णयमा कुनै उल्लेख छैन । एमालेकै केही नेताले भद्र सहमति गरेको हो भने पालना हुनुपर्ने जनाउँदै आउनुभएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो केही नभएको र तत्काल सरकार नढल्ने दाबी गर्दै आउनुभएको छ ।
बैठकपछि पार्टीका सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा सरकारको वार्षिक नीति र कार्यक्रम तथा बजेट अत्यन्त सकारात्मक, अग्रगामी र जनमुखी रहेको ठहर गरिएको जनाइएको छ ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसको कार्यान्वयनबाट नेपालको संविधानले परिकल्पना गरेको न्यायपूर्ण र समतामूलक समाजको आधारशीला निर्माणमा योगदान पुग्ने र मुलुक आर्थिक विकास एवम् समृद्धिको दिशामा अग्रसर हुने निष्कर्ष पनि निकालेको छ ।
नीति, कार्यक्रम र बजेटका बारेमा जनतामाझ व्यापक छलफल र परिचर्चा चलाउँदै बजेटको कार्यान्वयनका लागि अनुकूल वातावरण निर्माण गर्न राष्ट्रव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment