बागलुङ, २२ जेठ । नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको नेतृत्व नेपाली काँगे्रसले गर्ने बताउनुभएको छ ।
नेपाल तरुण दल बागलुङको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै सभापति देउवाले मुलुकको अगुवाइ पनि काँग्रेसले गर्ने दाबी गर्नुभयो । “हरेक परिवर्तनमा काँग्रेसले अग्रणी भूमिका खेलेको छ, नेपाली काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको छ, कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले गर्छ ।”
अधिवेशन उद्घाटनका लागि जिल्लाको पश्चिम तमान पुग्नुभएका सभापति देउवाले राष्ट्रिय सहमति कायम गराउन काँग्रेसले मात्र सक्ने विचार राख्नुभयो । उहाँले असन्तुष्ट मधेसी दलहरुसँग संवाद गरेर निकास निकालिने उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दउवाले मुलुकको समृद्धिको नेतृत्व पनि काँग्रेसले गर्ने बताउनुभयो ।
उहाँले काँग्रेसका नेता कार्यकर्तालाई गाउँ तहबाटै पार्टीलाई सुदृढ बनाउन आग्रहसमेत गर्नुभयो । उहाँले सरकारले ल्याएको नयाँ बजेटमा केही त्रुटि रहेको भन्दै आलोचनासमेत गर्नुभयो । बजेटप्रति काँग्रेसको केही विमतिहरु रहेको सभापति देउवाको भनाइ छ ।
अधिवेशनको उद्घाटनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, सुरेन्द्रराज पाण्डे, रत्ना शेरचन र गुरुराज घिमिरेलगायतले बोल्नुभएको थियो । आइतबारसम्म चल्ने अधिवेशनमा जिल्लाको एक नगरसहित तीनवटै निर्वाचन क्षेत्रका गरी तीन सय ६९ जना प्रतिनिधि सहभागी छन् ।
नयाँ बन्ने जिल्ला समितिको अध्यक्षका लागि छ जनाको उम्मेदवारी परेको जिल्ला अध्यक्ष कृष्ण केसीले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment