कपिलवस्तु, २ असार । कपिलवस्तुको चन्द्रौटामा बोल्न नसक्ने महिलामाथि भएको बलात्कारमा संलग्न सशस्त्र प्रहरीलाई कडा कारबाहीको माग गर्दै स्थानीय जनताद्वारा भइआएको आन्दोलन केही दिनका लागि स्थगित भएको छ ।
बलात्कारमा परेकी महिलाको उपचारमा सहयोग गर्ने र घटनाको निष्पक्ष छानबिन गर्ने स्थानीय प्रशासनसँग सहमति भएपछि अवरुद्ध राजमार्ग र आन्दोलनका कार्यक्रम पीडित पक्षले फिर्ता लिएका छन् ।
शिवराज नगरपालिका–१० नौडिहवाकी ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अवस्थीले सशस्त्र प्रहरी विन्दवासिनी गण नजिकैको फाइरिंग रेन्ज जङ्गलमा भैँसी चराउन गएकी बोल्न नसक्ने एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले घटनाको प्रतिवेदन चार दिनमा सार्वजनिक गर्ने प्रतिवद्धता पीडित परिवारसामु व्यक्त गरेको छ । पीडित महिलालाई सशस्त्र प्रहरीले तत्काल उपचारका लागि रु १५ हजार सहयोग गरेको छ । यसैगरी विभिन्न सङ्घ संस्थाको सहयोगमा पीडित महिलाको काठमाडौँमा उपचार भइरहेको छ ।
जिल्लाका अधिकारकर्मीले घटनाको न्यायिक छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । पक्राउ परेको अवस्थीमाथि अनुसन्धान भइरहेको र थप नयाँ कुरा आउन सक्ने प्रहरी उपरीक्षक विक्रम केसीले बताउनुभयो ।
घटनाको थप अनुसन्धानका लागि क्षेत्रबाट एसएसपी केवी ब्रह्माचार्यको नेतृत्वमा अनुसन्धान टोली आइसकेको र केन्द्रबाट पनि अनुसन्धान टोली आउँदै गरेको सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment