काठमाडौँ, ४ साउन । विभिन्न सङ्घसङ्गठनमा आबद्ध ट्याक्सी व्यवसायीले सरकारले वास्तविक भूकम्पपीडितको पहिचान गरी उनीहरुलाई सुविधामा ट्याक्सी उपलब्ध गराउन माग गरेका छन् ।
व्यवसायीले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जोसुकैलाई नभई वास्तविक भूकम्पपीडितलाई भन्सार सहुलियतसहित उनीहरुको सीपअनुसार सवारी साधन सञ्चालन गर्न दिनुपर्ने माग गरेका हुन् ।
राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले भूकम्पपीडितलाई उपलब्ध गराएको सवारी साधन अरुलाई बिक्री वितरण गर्न नपाइने गरी नियमन गर्नुपर्नेमा जोड दिँदै सरकारले यातायात मजदुर र व्यवसायीसँग विभिन्न समयमा आफूको माग सम्बोधन गर्न गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने मागसमेत गर्नुभयो ।
श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष प्रकाश बस्नेतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने विचार व्यक्त गर्दै काठमाडौँ उपत्यकामा पार्किङको व्यवस्थाको प्रबन्ध गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घ, काठमाडौँ उपत्यका स्वरोजगार ट्याक्सी मजदुर तथा व्यवसायी सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घको सहभागिता रहेको थियो ।
सरकारले गत वर्ष भूकम्पीडितलाई एक हजार ५०० ट्याक्सी सहुलियत मूल्यमा उपलब्ध गराउने भनी प्रक्रिया अगाडि बढाएको थियो । यातायात व्यवस्था विभागले अहिले त्यसका लागि गृहकार्य सुरु गरिसकेको बताइएको छ । रासस
No related posts.
No comments:
Post a Comment