फलेवास (पर्वत), १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्वतको तेस्रो जिल्ला अधिवेशन शनिबार सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ ।
अधिवेशनले ठाकुरप्रसाद भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । भुसाल यसअघि पनि अध्यक्ष पदमै रहनुभएको थियो ।
पार्टीको प्रथम उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षमा चुडामणि पौडेल, नारायणदत्त भुसाल रहनुभएको छ । त्यस्तै, सचिवमा दुर्गाप्रसाद श्रेष्ठ र सदस्यहरुमा किशोर कुँवर, ठाकुर बम मल्ल, गङ्गे दमै, गुरुदत्त सुवेदी, नरबहादुर क्षेत्री, शान्ति नेपाली रहेका छन् । सहसचिव र कोषाध्यक्ष पछि मनोनीत गरिने प्रथम उपाध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा पर्वत क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा हेमलाल शर्मा र क्षेत्र नं २ मा तिलकप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमितिहरु पनि चयन गरेको छ ।
यसअघि आयोजित कार्यक्रममा बोल्दै राप्रपा नेपालका केन्द्रीय सदस्य तथा धौलागिरि इन्चार्ज कुलबहादुर गुरुङले नयाँ संविधानको सफल कार्यान्वयका लागि सम्पूर्ण राजावादी शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नका लागि राप्रपा नेपालले निरन्तर आन्दोलन गरिरहने बताउँदै विदेशीको इशारामा धर्म परिवर्तन गर्न नहुने बताउनुभयो ।
उहाँले दबाबको भरमा धर्म परिवर्तन गराउन खोज्नेहरुलाई आवश्यक कारबाही राज्यले गर्ने पनि बताउनुभयो । गुरुङले अहिलेको सरकार तत्काल परिवर्तन नहुने बताउँदै यही सरकारले तीनवटै निर्वाचन र संविधानको सफल कार्यान्वयन गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य इच्छाबहादुर गुरुङ, केन्द्रीय सदस्य तिलकप्रसाद रिजाल, राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुन, लेखनाथ नगरपालिका कास्कीका अध्यक्ष हरिबहादुर जिसी, विद्यार्थी नेता किशोर कुँवर र जिल्ला सदस्य गङ्गे दमाइँलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
–––––––––
No related posts.
No comments:
Post a Comment