पोखरा, १८ असार । नेपाली काँग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा समाहित हुन सबैसँग आग्रह गर्नुभएको छ ।
स्व गिरिजाप्रसाद कोइरालाको ९१औँ जन्मजयन्तीको सन्दर्भमा नेपाली काँग्रेस कास्कीले आज यहाँ आयोजना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा स्व गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक नेतृत्व विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सबै पार्टीका शीर्ष नेतृत्वले राष्ट्र निर्माणमा मन, वचन र कर्मले एकताको अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
भाषण गर्दा सधैँ एकताको कुरा गर्ने तर मौका प¥यो भने सत्ताको जोड घटाउमा लाग्ने गरेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो – “राष्ट्रिय सहमति निर्माण नगरी संविधान कार्यान्वयन गर्न सकिँदैन ।” उहाँले देशमा आर्थिक समृद्धि गरी जनताको मुहारमा खुसियाली ल्याउन राजनीतिक स्थिरताको खाँचो औँल्याउनुभयो ।
काँग्रेस नेता सिटौलाले स्व गिरिजाप्रसाद कोइराला सधैँ सक्रिय, कहिल्यै नथाक्ने, बोलीमा वचनबद्ध र निर्णायक नेताका रुपमा हुनुहुन्थ्योे भन्नुभयो ।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नेपाली काँग्रेसको अगुवाइमा मात्र संविधानको कार्यान्वयन हुनसक्ने बताउनुभयो ।
सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न सकिएमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि दिएको ठहरिने धारणा राख्नुभयो ।
पार्टीका जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको सो समारोहमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष कृष्ण थापा, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गङ्गा पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अधिवक्ता तिलक पराजुली, पार्टीका नेताहरु खेमराज पौडेल, देवराज चालिसे, पोषनाथ शर्मा, वजीरमान श्रेष्ठ, कोपिला रानाभाट, हरि आचार्यलगायतका वक्ताले स्व कोइरालाको योगदानमाथि चर्चा गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment