इटहरी, १८ असार । नेपाली काँग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको सम्मानमा आज सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित काँग्रेसको पार्टी कार्यालय परिसरमा स्थापना गरिएको सिङ्गमर्मरको अर्धकदको सालिक अनावरण गरिएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको सालिक अनावरण गर्दै देशले नयाँ संविधान पाइसकेकाले त्यसको घनिभूत कार्यान्वयनसँगै आर्थिक विकासतर्फ सबै राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ नेता पौडेलले सत्ताको खेलमा नलागी कसरी देशलाई समृद्ध बनाई सम्पूर्ण नेपालीको समान हैसियत बनाउन सकिन्छभन्ने विषयमा सहमति तथा सहकार्य गर्न जरुरी भइसकेको पनि स्पष्ट पार्नुभयो ।
जिपी कोइरालाजस्ता भविष्य द्रष्टा र बिपी कोइरालाजस्ता महान् नेताले नेतृत्व गरेको पार्टी यतिखेर केही शिथिल जस्तो देखिए पनि जस्तोसुकै सङ्कटको समेत सामना गर्न जुर्मुराएर गति लिने दृढतासमेत व्यक्त गर्नुभयो ।
सबै जाति भूगोलमा बसोबास गर्दै आएका मानिसको साझा समस्याको पहिचान गरी राष्ट्रिय ठोस नीति बनाउन अब काँग्रेसले नै नेतृत्व गर्नेबेला आएको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले राष्ट्रनायक जिपी कोइरालाले देशलाई गणतान्त्रिक संविधान, धर्म निरपेक्ष र समान पहुँचसहितको समावेशी राज्य बनाउने परिकल्पना राख्नुभएको उल्लेख गर्दै त्यसलाई साकार पार्नु नै उहाँप्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ भन्नुभयो ।
नेपाललाई विश्वको अन्य विकसित मुलुकसरह समृद्ध बनाउन सहमति, सहकार्य र एकता जरुरी छ भन्ने गिरिजाबाबुको आदर्शलाई सबै राजनीतिक दलका शीर्ष नेताले अनुभूति गरीे अब देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेतर्फ गम्भीर भएर सोच्न आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राष्ट्रनायक स्व नेता गिरिजाप्रसाद कोइरालामा राष्ट्रप्रतिको गहन जिम्मेवारी बोध भएकै कारणले नेपालले गणतान्त्रिक संविधान प्राप्त गर्ने अभियानले सार्थकता पाएको हो भन्नुभयो ।
त्यसैगरी केन्द्रीय सदस्य मीन विश्वकर्मा र सरिता प्रसार्इंले बिपी कोइराला, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता महान् व्यक्तिले सम्हालेको काँग्रेस पार्टीले नै देशको समस्या समाधान गरी जनचाहनाअनुरुपको परिवर्तन ल्याउने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।
जिल्ला सभापति राजीव कोइरालाको अध्यक्षतामा भएको गिरिजाप्रसाद कोइरालाको ९३आँै जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रममा सांसद सूर्यदेव उराव, रामबहादुर बस्नेत, मेहता मेहन्दी हुसैन, हाजी मोहम्मद अब्दुल मियाँ, महिला सङ्घकी अध्यक्ष विजया कट्वाल, अगमलाल चौधरी, सुजेन्द्र तामाङ र केदार भण्डारीलगायतले पनि स्व कोइरालाले लोकतन्त्र, देश विकासमा गर्नुभएको योगदानका बारेमा बोल्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment