काठमाडौँ, २४ असार । सुदूरपश्चिम क्षेत्रको समग्र विकासको भावी रणनीतिबारे आज सरोकारवालाबीच छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास परिषद्को प्रथम बैठकले त्यस क्षेत्रको विकासका सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे परामर्श गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकले सुदूरपश्चिम विकास आयोगबाट सञ्चालित भएका अघिल्लो आवका कार्यक्रमको समीक्षासँगै आगामी वर्षमा हुने समग्र विकासका योजना कार्यक्रममाथि छलफल गरेको थियो । बैठकमा परिषद् अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिमाञ्चलको विकासका लागि तीन महिनाभित्र ठोस खाका ल्याउन निर्देशन दिनुभएको थियो । उहाँले सुदूरपश्चिम क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन लगायतका विषयलाई प्राथमिकतामा राखेर आगामी कार्ययोजना बनाइनुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्य, सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु तथा त्यस क्षेत्रका विज्ञको सहभागिता थियो । परिषद्मा प्रधानमन्त्री अध्यक्ष र सम्पूर्ण मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरु तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका सबै सांसदहरु सदस्य हुनुहुन्छ ।
बैठकले सुदूरपश्चिमको आर्थिक, सामाजिक, राजनीतिक विकासका कार्यक्रमबारेमा बनेका कार्ययोजनालाई पारित गरेको सुदूरपश्चिम विकास आयोगका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय योजना आयोगका सदस्य विजय कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगलाई अब बन्ने सङ्घीय संरचना अनुरुप सातौँ राज्य खडा हुने भएकाले त्यसबेला सरकारले राष्ट्रिय योजना आयोगले निकाल्ने जस्तै योजनाको कागजात (डकुमेन्ट) हस्तान्तरण गर्ने र कस्ता कार्यक्रम समावेश गर्ने भन्नेबारे बैठकमा छलफल भएको छ ।
आयोगको प्रस्तावित कार्यक्रमअनुसार सुदूरपश्चिमको विकासका लागि कस्ता आयोजना बनाउने, पूर्वाधार, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन, ऊर्जा आदिका विषयमा आवश्यक रणनीति बनाउनेबारे अध्ययन भएको छ ।
यसैबीच बैठकले सुदूरपश्चिम विकास आयोगको पाँच सदस्यमध्ये चार जना विज्ञलाई नियुक्त गरेको छ । जसमा क्रमशः राजबहादुर गिरी बाजुरा, डा एकराज ओझा डोटी ममताप्रसाद चौधरी कैलाली र पुष्पा नेगी कञ्चनपुर रहनुभएको छ । परिषद् अन्तर्गतको आयोगमा अध्यक्षबाहेक पाँच सदस्य रहने व्यवस्था छ । रासस
No related posts.
No comments:
Post a Comment