काठमाडौँ, २ साउन । आन्दोलनरत सङ्घीय गठबन्धनको बैठक आजबाट सुरु भएको छ ।
जारी संविधानमा सङ्घीय प्रदेशलगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनले राजधानीमा ३९ दिनसम्म चलेको रिले अनशनपछि भावी रणनीति तय गर्न बैठक डाकेको हो ।
बैठकले विगतका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै भावी रणनीति तय गर्ने गठबन्धनले जनाएको छ ।
गठबन्धनको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले राससलाई दिनुभएको जानकारीअनुसार आजको बैठकमा रिले अनशनको समीक्षा गर्दै कार्यक्रम प्रभावकारी भएको ठहर गरेको छ ।
गठबन्धनका मुख्य नेताले बोल्न बाँकी रहेकाले मुलुकको नयाँ परिस्थितमा कसरी अघि बढ्ने र आगामी कार्यक्रमलाई कसरी अघि बढाउने भन्नेबारे सोमबार छलफल हुने महासचिव सुमनले बताउनुभयो ।
गठबन्धनका शीर्षस्त नेताले बोल्ने पालो सोमबार रहेकाले सम्भवतः सरकारमा सहभागी हुने या नहुने भन्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।
स्रोतका अनुसार गठबन्धनले नयाँ परिस्थितिमा सर्त नयाँ सरकारलाई समर्थन गर्ने गरी निर्णय लिनेछ, गठबन्धनका नेताले पनि घुमाउरो तरिकाले नयाँ सरकारबारे सकारात्मक धारणा राख्दै आएका छन् ।
यसअघि गठबन्धनले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको छ । गठबन्धनको अर्को बैठक सोमबार बिहान ७ बजे तिनकुनेमा बस्नेछ । रासस
No related posts.
No comments:
Post a Comment