काठमाडाँै, २ साउन । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रको विकासका लागि माथेमा आयोगले दिएको सुझाव हुबहु लागू गर्न आग्रह गरेको छ ।
अखिल नेपाल विद्यार्थी युनियनले यहाँ आज आयोजना गरेको ‘नेपाल चिकित्सा शिक्षाको अवस्था र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा विद्यार्थी नेताले चिकित्सा क्षेत्रमा देखिएका विसङ्गतिलाई हटाउन माथेमा आयोगले सरकारलाई दिएको सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन’ मा कम्तीमा तीन वर्ष मेडिकल कलेज खोल्न नदिन सुझाएको थियो ।
उक्त प्रतिवेदनमा एक जिल्लामा एक मेडिकल कलेज खोल्न पाउनुपर्ने, मेडिकल कलेजका लागि कम्तीमा ३०० श्ययाको अस्पताल हुनुपर्ने, एमबिबिएस अध्ययनका लागि अधिकतम रु ३५ लाख लाग्नेलगायतका सुझाव उल्लेख छन् ।
प्रतिवेदनमा चिकित्सा क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री अध्यक्ष रहनेगरी चिकित्सा शिक्षा आयोग गठन गर्न प्रस्ताव गरिएको छ भने आयोगले स्वास्थ्य जनशक्तिसम्बन्धी शिक्षा क्षेत्रका सबै तह तथा विषयका मापदण्ड र स्तरसम्बन्धी नीति निर्धारण गर्ने उल्लेख छ ।
कार्यदलका सदस्य प्रा डा अर्जुन कार्कीले अहिले चिकित्सा क्षेत्रमा देखिएका नक्कली प्रमाणपत्रधारी चिकित्सकलगायतका समस्या समाधान गर्न पनि उक्त सुझाव प्रतिवेदन लागू गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले चिकित्सा क्षेत्रका विद्यार्थीलाई सामाजिक उत्तरदायी बनाउनुपर्ने बेला आएकाले विज्ञानमा आधारित मात्र नभएर समाजिक उत्तरदायित्वका विषयमा समेत उनीहरुलाई शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थी युनियनका अध्यक्ष प्रवीण मिश्रले चिकित्सा क्षेत्रकासाथै सम्पूर्ण शैक्षिक क्षेत्रको गुणस्तरवृद्धिका लागिसमेत संयुक्त विद्यार्थी सङ्गठनले माथेमा आयोगको सुझाव लागू गर्नैपर्ने माग रहेको बताउनुभयो । उक्त संयुक्त विद्यार्थी सङ्गठनमा विभिन्न दल निकट १३ विद्यार्थी सङ्गठन सम्मिलित छन् । रासस
No related posts.
No comments:
Post a Comment