काठमाडौँ, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महेन्द्र मञ्जिलको विद्युत् लाइन काट्ने निर्णय मानवीय दृष्टिकोणले आपत्तिजनक रहेकाले सच्याउन माग गरेको छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा सरकारको निर्णय बमोजिम ८९ वर्षीया पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह बस्ने नारायणहिटीस्थित मञ्जिलको विद्युत् लाइन बिनाजानकारी काट्ने काम अमर्यादित तथा पूर्वाग्रहले ग्रसित भएको जनाइएको छ ।
सरकारको स्वामित्वको त्यस क्षेत्रमा सरकारको निर्णयानुसार बस्दै आउनुभएकी शाहको विद्युत् लाइन अविलम्ब जडान गर्न सरकारसँग आग्रह गरिएको छ । ऊर्जा मन्त्रालयको निर्देशनानुसार उक्त स्थानलगायत विद्युत्को महसुल तथा बक्यौता बुझाउन रहेका अन्य क्षेत्रमा समेत लाइन काट्न सुरु गरिएको थियो । यसैबीच पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष प्रकाश रिमालले विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना गर्नुभएको छ । रासस
No comments:
Post a Comment