Saturday, August 20, 2016

विश्वदर्शन अभियान नेपालद्वारा वृद्धाश्रममा सफाइ

काठमाडौँ, ४ भदौ । विश्व दर्शन अभियान, नेपालको संयोजनमा आज शान्तिनगरस्थित ज्येष्ठ नागरिक आवास गृहमा सरसफाइ गरिएको छ ।

निःसहाय सेवा सदनद्वारा सञ्चालित उक्त आश्रममा दुई घन्टा सरसफाइ गरिएको थियो ।

सदनकी अध्यक्ष सगुन शाहले अभियानको संयोजनमा भएको कार्यप्रति धन्यवाद व्यक्त गर्दैै आगामी दिनमा पनि सफाइका लागि आग्रह गर्नुभयो ।

सफाइमा सहभागी राससका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले आफू पनि सामाजिक सेवाको यस्तो कार्यक्रममा विश्व दर्शनसँग सम्मिलित हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

अभियानका अध्यक्ष नवराज भट्टराई कोहम्ले ज्येष्ठ नागरिक आवास गृहमा थोरै भएपनि सेवा गर्न पाउँदा सहभागी सबै खुसी भएको विचार व्यक्त गर्दै अभियानका तर्फबाट आगामी दिनमा पनि यस्ता कार्य गरिरहने जनाउनुभयो ।

चालीसजना वृद्धवृद्धा रहेको उक्त आश्रमको सरसफाइमा विश्व दर्शन अभियान कोषका संयोजक इन्द्र कर्माचार्य, सल्लाहकार शङ्कर चापागाईं, अभियानका महासचिव नारायणप्रसाद भट्टराई तथा अन्य अभियानकर्मीहरु र स्वतःस्फूर्तरुपमा युवाहरु सहभागी हुनुभएको थियो ।

यसैबीच, अभियानको शनिवासरीय सत्सङ्गअन्तर्गत आज अपराह्न भएको कार्यक्रममा अभियानका अध्यक्ष तथा विश्वयात्री नवराजले आफूहरुले कसरी विश्वयात्रा सुरु गरियो, भोजपुरको विकट गाउँका साथै काठमाडौँ आएर पनि कसरी सङ्घर्ष गर्नुभयो भन्ने तथा आफूले नेपालको भ्रमण गर्दाका सुखदुःख तथा नेपालका रमणीय ठाउँबारे जानकारी दिनुभयो ।

संस्थाका महासचिव तथा अर्का विश्वयात्री नारायणप्रसाद भट्टराईले पनि पहिलेको सङ्घर्षपूर्ण जीवन, मनोक्रान्ति अभियानसँगको सम्पर्क र प्रेरणा तथा विश्वयात्रा सुरु गर्दा आफूहरुसँग रु ३५० मात्र भएको प्रसङ्गका साथै अभावका बीच पनि नेपाल भ्रमणबारे पुस्तक प्रकाशित गर्न सफल भएकोबारे उल्लेख गर्नुभएको थियो ।

यात्रीद्वयले विश्वयात्राअन्तर्गत हालसम्म नेपाल, भारत, भुटान र म्यानमारको भ्रमण गरिसक्नुभएको छ भने ती भ्रमणबारे पुस्तक लेखनको क्रममा हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts