Wednesday, August 3, 2016

सञ्चारमन्त्री राईको बिदाइ

काठमाडौँ, १९ साउन । सूचना तथा सञ्चार मन्त्रालयले निवर्तमान मन्त्री शेरधन राईलाई आज बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा मन्त्रालयका सचिव र उच्च अधिकारी, मन्त्रालय मातहतका विभागीय प्रमुख तथा सञ्चार क्षेत्रका विज्ञको सहभागिता रहेको थियो ।

सो अवसरमा निवर्तमान मन्त्री राईले मिडियासम्बन्धी गठित उच्चस्तरीय मिडिया सुझाव समितिका अध्यक्ष, सदस्य, कर्मचारी, सञ्चार विज्ञ र मन्त्रालय मातहतका विभागीय प्रमुखलाई धन्यवादपत्र प्रदान गर्नुभयो ।

बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, गोरखापत्र दैनिकका महाप्रबन्धक सुशील कोइराला, राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले तथा महाप्रबन्धक निर्मला आचार्य र नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीलगायत उपस्थित हुनुहुन्थ्यो ।

सोही अवसरमा निवर्तमान मन्त्री राईले आफ्नो करिब नौमहिने कार्यकालमा राष्ट्रिय आमसञ्चार नीति निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण काम भएको बताउनुभयो । समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा रहेको समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को यही साउन ६ गतेको बैठकले सो सञ्चार नीति पारित गरेको थियो ।

नौमहिने कार्यकालमा आफूले गरेका कामबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, “मेरो कार्यकालमा विज्ञापनरहित ‘क्लिन फिड’ नीति, २०७३ पनि जारी गर्ने, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक कार्यान्वयन गर्ने, विज्ञापनको रकम दोब्बर गर्ने र आमसञ्चार सङ्ग्रहालय निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गर्नेलगायतका विभिन्न काम गरेको छु ।”

नौ महिनाको कामबाट आफू अत्यन्तै सन्तुष्ट रहेको उहाँको भनाइ थियो ।

सोही अवसरमा मन्त्रालयका निमित्त सचिव सुरेशकुमार अधिकारी, महासङ्घका अध्यक्ष डा विष्ट र प्रशासकीय अदालतका अध्यक्ष तथा मिडिया सुझाव समितिका अध्यक्ष काशीराज दाहालले मन्त्री पदमा नरहे पनि सांसद र पार्टीकातर्फबाट आमसञ्चार नीति र सञ्चारसम्बन्धी अन्य नीति कार्यान्वयनका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts