काँकडभिट्टा (झापा), २३ साउन । झापाका एक बालक भारतको हरियाणास्थित आश्रममा फेला परेका छन् ।
सुरुङ्गाको बेलायती बारी घर बताउने १२ वर्षीय कर्म मुर्मु हरियाणाको शान्ति भवन आश्रममा फेला परेका हुन् ।
आश्रमकी गुरुआमा मारियाले जिल्ला प्रहरी कार्यालय झापामा केही दिनअघि टेलिफोन गरी मुर्मुको बारेमा जानकारी दिएकी हुन् । मारियाले मुर्मुको अभिभावक पत्ता लगाइदिन र उनलाई लिन आउन आग्रह गरेको प्रहरीले आज जनाएको छ ।
प्रहरी प्रवक्ता हरि शर्माका अनुसार प्रहरीले टेलिफोनमार्फत मुर्मुसँग आधा घण्टा कुराकानीसमेत गरेको छ । सम्पर्कमा उनले आफ्नो बुबाको नाम माइलो सतार र घर बेलायती बारी नै बताएको प्रहरीले जनाएको छ ।
कार्यालयले प्रहरी परिचालन गरी मुर्मको घर र परिवारको खोजी गरिरहेको जनाएको छ । प्रवक्ता शर्माले हालसम्म मुर्मुको घर र परिवार पत्ता नलागेको बताउनुभयो ।
आमा वैदेशिक रोजगारीमा गएको र बुबाले सौतेनी आमा ल्याएको हुँदा आफू घर छोडेर हिँडेको मुर्मुले प्रहरीसँग बताएका छन् । रासस
No comments:
Post a Comment