Monday, August 29, 2016

सङ्ग्रहालय प्रयोगमा आउन सकेन

पाल्पा, १३ भदौ । द्वन्द्वकालीन समयमा ध्वस्त भई पुनःनिर्माण भएको पाल्पा दरबार सङ्ग्रहालयको रुपमा सञ्चालन हुने भनिएतापनि हालसम्म प्रयोगमा आउन सकेको छैन ।

२०६२ साल माघ १८ गते माओवादी आक्रमणमा ध्वस्त भएको पाल्पा दरबार २०७० साउनमा निर्माण कार्य सम्पन्न भएको थियो । स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारीले दरबारलाई सङ्ग्रहालय बनाउनुपर्ने माग गर्दै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णय भएपछि गत माघ ३ गतेदेखि दरबारलाई सङ्ग्रहालयका रुपमा कार्यालय स्थापना गरिएको छ । तीन महिनासम्म पनि सङ्ग्रहालयमा एउटा काठको ठेकीबाहेक अन्य कुनै पनि सामान सङ्ग्रहित गरिएको छैन् ।

मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत प्रमुख रहने गरी सात जना कर्मचारीको दरबन्दी स्वीकृत गरेसँगै पाल्पा दरबार सङ्ग्रहलय सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

सङ्ग्रहालयका प्रमुख विष्णुप्रसाद खनाल भन्नुहुन्छ, “दिनमा २०० सम्म आन्तरिक तथा बाह्य पर्यटक सङ्ग्रहालयमा अवलोकन गर्न आउने गर्दछन्, तर खाली दरबार मात्रै हेरेर फर्कने गरेका छन् ।” सङ्ग्रहालयमा पुराना सामान ल्याउन सूचना गरिएको उहाँले बताउनुभयो ।

झन्डै रु सात करोडको लागतमा निर्माण भएको दरबारमा चारवटा तल्ला, ६४ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेको छ । तत्कालीन शासक जनरल प्रतापशमशेरले १९८३ सालमा निर्माण गरेको पाल्पा दरबारलाई जिल्लाकै गौरवको रुपमा लिइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts