काठमाडौँ, ४ भदौ । नेकपा(माओवादी केन्द्र)ले सरकार सञ्चालनका लागि सहयोग संयन्त्र गठन गरेको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र गठन गरेको हो । सो समितिमा आवश्यकताका आधारमा सदस्यहरु राखिनेछ ।
संयन्त्रले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव तथा सल्लाह दिनेछ । संयन्त्रमा नेताहरु रामबहादुर थापा, कृष्णबहादुर महरा, मातृकाप्रसाद यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार सदस्य हुनुहुन्छ ।
केन्द्रका नेता हरिबोल गजुरेलकाअनुसार समितिले सरकारले तत्काल गर्नुपर्ने काम कारबाहीका विषयमा सुझाव दिने र आवश्यक परामर्श गर्नेछ ।
यस्तै बैठकले पार्टीको सङ्गठन विभाग पुनःगठन गरेको छ । नेता रामबहादुर थापाको नेतृत्वमा रहेको सो विभागमा १३ सदस्यीय बनाइएको हो । सो समितिमा सातवटा प्रदेशका इन्चार्ज सदस्य रहनुहुनेछ भने नेताहरु रायमाझी, पोखरेल, मणि थापा र अन्तर्राष्ट्रिय विभागका सदस्यसमेत रहनुहुने प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश नं १ को इन्चार्जमा गोपाल किराती र प्रदेश नं ६ को इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश नं १ का इन्चार्ज सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार मन्त्री र ६ नं प्रदेशका इन्चार्ज जनार्दन शर्मा ऊर्जा मन्त्री बन्नुभएका कारण खाली रहेको स्थानमा किराती र बस्नेतलाई जिम्मेवारी दिइएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
बैठकले राजनीतिक र सङ्गठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय गरिएको नेता गजुरेलले जानकारी दिनुभयो । बैठकमा सरकारको काम कारबाही र मन्त्रिपरिषद् विस्तारलगायत विषयमा समेत छलफल भएको बताइएको छ । रासस
No comments:
Post a Comment