Saturday, August 20, 2016

खेलकुदको विकास गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ, ४ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा बढाउन खेलकुद क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले पुष्पलालको ३८औँ स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको ‘पुष्पलाल स्मृति प्रथम अन्तरविद्यालय’ जिम्न्यास्टिक प्रतियोगिताको शुभारम्भ गर्दै अध्यक्ष ओलीले राष्ट्रको गौरव तथा प्रतिष्ठालाई उँचो बनाउन खेलकुद क्षेत्र महत्वपूर्ण विधा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “ब्राजिलमा ओलम्पिक खेल चलिरहेको छ, हामी त्यसमा पदक ल्याउन सक्ने अवस्थामा छैनौँ । देशको भविष्यलाई उज्ज्वल बनाउने यी बालबालिकालाई राम्रो अभ्यास गराउनुपर्छ । यिनीहरुले देशको नाम फैलाउनेछन् ।”

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव किशोरबहादुर सिंह, सांसद कर्णबहादुर थापालगायतले प्रतियोगिताको सफलताको कामना गर्दै मानिसको दैनिक जीवनमा स्वस्थता तथा स्वच्छता कायम गर्नका लागि खेलको महत्व रहेको बताउनुभयो ।

एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले नेकपा (एमाले)का संस्थापक महासचिव पुष्पलालको स्मरणमा अबदेखि यस किसिमको प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गर्ने जानकारी दिँदै कम्तीमा एक महिनामा एउटा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने योजना रहेको बताउनुभयो ।

आइतबारसम्म जारी रहने उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक गरी ५१ विद्यालयका १९० सहभागी छन् । कक्षा १ देखि ५ सम्म एउटा समूह तथा कक्षा ६ देखि १० सम्म अर्को समूह गरी दुई भागमा खेलाडीलाई विभाजन गरिएको छ । विजेतालाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts