फलेवास (पर्वत), २६ साउन । मौसमको खराबीका कारण आकस्मिक अवतरण गरेका दुई हेलिकप्टर गन्तव्यतर्फ लागेका छन् ।
मुस्ताङको लेतेबाट पोखरा फर्कदै गरेका मनाङ एयरका दुई हेलिकप्टर एक्कासि मौसममा खराबी आएपछि आज मध्याह्न कुश्मा बजारस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आकस्मिक अवतरण गरिएको थियो ।
मनाङ एयरको नाइन एन एएलडी र नाइन एन एएलसी कल साइन भएका हेलिकप्टर भारी वर्षा र बाक्लो कुहिरोका कारण आकस्मिक अवरतण गर्नु परेको क्याप्टेन प्रकाश सेढाइँले जानकारी दिनुभयो ।
दुईवटै हेलिकप्टरमा दुई÷दुई जना नेपाली यात्रु सवार रहेका थिए । भारतीय पर्यटकलाई लेतेमा झारेर पुनः उडान भर्न पोखरा आउँदै गर्दा एक्कासि मौसममा खराबी आएको अर्का क्याप्टेन कमल बुढाले जानकारी दिनुभयो ।
मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लागेको सशस्त्र प्रहरी गणका प्रमुख कृष्णकुमार थापाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment