Sunday, September 4, 2016

निर्वाचनमा धाँधली अफ्रिकामा कठिन बन्दै : विशेषज्ञ

डकार, १९ भदौ । ग्याबोनमा राष्ट्रपति पदको निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गोले पुनः निर्वाचनको कडा प्रयास गर्दा हिंसा फैलिएको छ । अर्कोतिर नागरिक समाजको सतर्कता र मोबाइल प्रविधिको विस्तारका कारण अफ्रिकाका निर्वाचनमा धाँधली कठिन हुँदै गएको विशेषज्ञहरूले बताएका छन् ।

अगस्त २७ मा भएको निर्वाचनमा ६,००० मतबाट आफू बिजयी भएको दाबी राष्ट्रपति बोङ्गोले गर्नुभएपछि प्रतिपक्षी नेता जँ पिङले शुक्रबार आफू ग्याबोनको अधिकारप्राप्त राष्ट्रपति भएको घोषणा गर्नुभयो र पुनः मतगणना गर्न आग्रह गर्नुभयो ।

हालै नाइजेरिया, आइभरी कोस्ट, बेनिन, बुर्किना फासोमा सामान्यतया ठूलो विवाद नभइकन निर्वाचन भएका छन् । ती मुलुकमा नागरिकले सुपरिवेक्षण गरेका र उनीहरूले सावधानीपूर्वक अनुगमन गर्ने आश्वासन दिएका पश्चिम अफ्रिकाका लागि खुला समाजको प्रयास (वपन सोसाइटी इनिसिएटिभ फर वेस्ट अफ्रिका) का राजनीतिक सुशासन कार्यक्रम व्यवस्थापक म्याथियास हुन्कपेले बताउनुभयो । यस संस्थाले सरकारमा पारदर्शीपनाका लागि प्रवर्धन कार्य गर्छ ।

‘‘धाँधली गर्ने काम झनझनै कठिन बन्दै गएको छ’’, उहाँले भन्नुभयो ।

निर्वाचनका लागि मतपत्रमा धाँधली हुन नदिन स्पष्ट कानुनी संरचना, कानुनलाई सम्मान गर्ने निर्वाचन निकाय, निर्वाचन अनुगमन गर्ने स्वतन्त्र संस्थाको रूपमा अन्तर्राष्ट्रिय निकाय तथा स्वतन्त्र प्रेस तथा सक्रिय सामाजिक आमसञ्चार प्रयोगकर्ताले निष्पक्ष निर्वाचनको प्रत्याभूति दिने हुन्कपेले बताउनुभयो ।

अफ्रिकी अधिकारकर्मी संस्था राधोका महासचिव अबुबाक्री एमबोद्जीले सेनेगल, घाना तथा आन्ध्रमहासागरीय द्वीप केप भर्ड जस्ता पश्चिमी तथा मध्यअफ्रिकी मलुकले सफल प्रजातन्त्रमा कसरी निर्वाचन हुन्छ भन्ने देखाएको बताउनुभयो ।

बलियो नागरिक समाज, स्वतन्त्र आमसञ्चार तथा सूचना प्रवाह गर्ने नयाँ प्रविधिमा नागरिकको पहुँच निकै महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

राधो क्रियाशील मुलुक सेनेगलमा समाजवादी सरकारले ४० वर्षसम्म शासन गरे पनि सन् २००० मा नरमपन्थी उम्मेदवार अब्दुलय वेडले माथिल्लो तहमै परिवर्तन गरिदिनुभयो र उहाँले राष्ट्रपति पदमा दुई पटक विजय हासिल गर्नुभयो ।

उहाँले तेस्रोपटक पनि सत्तामा रहन प्रयास गर्दा सन् २०१२ मा मतदाता रिसाएर उहाँलाई पदमुक्त गरे । यसबाट मतदातामा पाकोपना रहेको देखिएको एमबोद्जीले बताउनुभयो ।

उहाँले सन् २००० को निर्वाचनमा ठूलो मात्रामा मोबाइल फोन तथा इन्टरनेटले सहयोग गरेको बताउनुभयो ।

मतपत्र बिगार्न खोज्ने पार्टीका कुनै पनि सदस्यले मतदान केन्द्रमा रहेका ठूलो सङ्ख्याका जनताको सामना गर्नुपर्ने भएकाले निर्वाचन शान्तिपूर्ण हुने सुनिश्चितता दिएको र समाचारदाताले पनि आमसञ्चार र विशेष गरी रेडियो स्टेसनलाई मोबाइल फोनको माध्यमबाट निर्वाचनको नतिजा दिएको उहाँले बताउनुभयो ।

सेनेगलमा ‘‘वाई एन अ मारे’’ बुर्किना फासोमा ‘‘बलाइ सिटोयन’’, तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ‘‘लट पुर ल चेन्जमन्ट’’ जस्ता संस्थाले गत १५ वर्षसम्म सरकारलाई पारदर्शी हुन कडा दबाब दिएका छन् ।

बढी पारदर्शी निर्वाचनतर्फको प्रवृत्ति देखिए पनि सरकारबाट हुने कडा प्रतिक्रिया पूर्ण रूपमा हटेको छैन । फेब्रुअरीमा युगान्डामा, मार्चमा कङ्गो ब्राजभिलमा र हाल ग्याबोनमा राष्ट्रपति पदको निर्वाचनको समयमा इन्टरनेट तथा सामाजिक आमसञ्चार बन्द गरिए ।

कङ्गोमा लामो समयसम्मका नेता डेनिस सासु एनगुएसोको शासनमा फर्कदाको निर्वाचनलाई उल्लेख गर्दै एमबोद्जीले अफ्रिकी युनियनका सुपरिवेक्षकले पनि आफ्नो कार्यका लागि कुराकानी गर्न समेत नपाएको बताउनुभयो ।

यसो भए पनि इन्टरनेटका कारण सूचनाको प्रवाहबाट यस महादेशका प्रमुख नेताहरूले पनि उन्मुक्ति नपाएको हुन्कपेले बताउनुभयो ।

उहाँले हाल निर्वाचनको प्रक्रियालाई आफू अनुकूल बनाउन शक्तिशाली व्यक्ति पनि कमजोर बन्दै गएको उल्लेख गर्नुभयो । रासस/एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts