Sunday, September 25, 2016

एसक्युसीको राष्ट्रिय सम्मेलन भक्तपुरमा

भक्तपुर, १० असोज । विद्यालय पाठ्यक्रममा आधारित विद्यार्थी गुणीय चक्र (एसक्युसी)को १२ औँ राष्ट्रिय सम्मेलन आगामी कात्तिकमा हुने भएको छ ।

आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष नीरञ्जन अधिकारीले कात्तिक ५ र ६ गते भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा सम्मेलन आयोजना हुने जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले सम्मेलनमा देशका विभिन्न जिल्लाबाट एक हजार २०० भन्दा बढी प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी सहभागी हुने बताउनुभयो । क्वेस्ट नेपालका देशभर रहेका १८ हवबाट छानिएका विद्यार्थीमात्र राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउने छन् ।

सम्मेलनमा सहभागी विद्यार्थीले आफूले समाधान गरेका मनोसामाजिक समस्या तथा अन्य समस्याको बारेमा आफूले गरेको घटना अध्ययनका अनुभव प्रस्तुत गर्नेछन् । यसको साथै त्यस अवसरमा विद्यार्थीले साझा सवाल, नेपाली संसद्, कोलाज, हाजिरी जवाफलगायत अन्य धेरै क्रियाकलापमा आफ्नो प्रतिभा देखाउने क्वेस्ट नेपालका वरिष्ठ उपाध्यक्ष राजकुमार महर्जनले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सैनिक आवासीय महाविद्यालयका प्रधानाध्यापक तथा आयोजक संस्थाका सदस्य समिम ए समिमले यसले विद्यार्थी सर्वगुण सम्पन्न, असल र चलाख व्यक्तित्व निर्माण हुने बताउनुभयो ।

सन् १९६३ देखि जापानले औद्योगिक क्षेत्रमा लागू गरेको क्वालिटी कन्ट्रोल सर्कलको अवधारणालाई सन् १९९९ देखि डा जगदीश गान्धीले शैक्षिक क्षेत्रमा लागू गरेका हुन् ।

यो विधि प्राध्यापक दिनेश चापागाईंको अग्रसरतामा सन् १९९९ देखि नै विद्यार्थी गुणीय चक्रअर्थात् स्टुडेन्ट क्वालिटी सर्कलको नामले अनौपचारिक रुपले नेपालका विभिन्न विद्यालयमा लागू भए पनि विद्यालय पाठ्यक्रममै समावेश गरेर औपचारिक शिक्षणको सुरुवात भने माउण्ट भ्यू इङ्लिस बोर्डिङ स्कूलले मात्रै गरेको वरिष्ठ उपाध्यक्ष महर्जनको बताउनुभयो ।

यो विधि अहिले विश्वका ३५ देशमा प्रयोग भएको र नेपालमा भक्तपुर, काठमाडौँ, रुपन्देही र पाल्पालगायतका १५ जिल्लाका १५ हजार विद्यार्थीले अध्ययन गरिरहेको क्वेस्ट नेपालले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts