Monday, September 26, 2016

स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको छः मन्त्री लेखक

पोखरा, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य लेखकले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने धारणा राख्नुभयो ।

नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस तयार रहेको जानकारी गराउँदै उहाँले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको बताउनुभयो ।

पूर्वपार्टी सभापति एवम् सांसद यज्ञबहादुर थापाले देश चुनावको राजनीतिमा प्रवेश गरिसकेकाले अब कत्ति पनि अलमलिने बेला नरहेको धारणा राख्नुभयो ।

पार्टीका जिल्ला सभापति कृष्ण केसीका अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय शारदा पौडेल र वृन्दादेवी राना, पार्टी पूर्वसभापति सोभियतबहादुर अधिकारीले पार्टीका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts